कीवर्डहरू -

राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल विरूद्ध ५ अर्ब १८ करोड बढीको बिगो कायम गर्दै मुद्दा दायर

राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल विरूद्ध ५ अर्ब १८ करोड बढीको बिगो कायम गर्दै मुद्दा दायर

राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल विरूद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको छ । 

विभागले आईतबार उच्च अदालत पाटनमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरेको हो । 

विभागका महानिर्देशक नवराज ढुंगानाले एउटै व्यवसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गरेको यो पहिलो पटक भएको बताए ।

कोटिभिटीले विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएतापनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मुल्य अभिबृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको आरोप छ । 

आफुमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी तथा मुख्य कम्पनी कोटिभिटि इन्कलाई आफ्नो सेवा विक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिमको कसुर गरेको पुष्टि भएकोले ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ कुल बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।  

कोटीभिटी नेपाल, नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी रहेकोमा २०७३ श्रावण २८ गतेको शेयरधनीको निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी भरसेन्ड टरक्नोलोजी कायम गरी कम्पनी रजिष्ट्रारले २०७३ भदौं ०८ मा स्विकृत प्रदान गरेको थिए । 

कम्पनीको मिति २०७५ कात्तिक ०१ को शेयरधनीको विशेष निर्णय बमोजिम भरसेन्ड टेक्नोलोजीको नाम परिवर्तन गरी कोटिभिटी नेपाल कायम गर्न निवेदन दिएबमोजिम २०७५ पुस ०८ को पत्र बमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको छ ।