कीवर्डहरू -

नेपाली आईटी कम्पनीले विदेशमा शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न न्यास आईटीको सुझाव

नेपाली आईटी कम्पनीले विदेशमा शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न न्यास आईटीको सुझाव

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी) ले नेपाली आईटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न सुझाव दिएको छ । 

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग छलफल गर्दै न्यास आईटीका पदाधिकारीहरूले नेपाली आइटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएको हो । 

न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठसँग गएको न्यास आईटीको टोलीले पालिका स्तरमा हरेक नागरिकको एकीकृत तथ्यांक व्यवस्थापन गर्ने गरी एकीकृत डाटा केन्द्र स्थापना गर्नुपर्ने, नेपाली आइटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने, आइटी उद्योग र स्टार्टअपहरुलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आइटी बोर्ड स्थापना गर्नुपर्ने, आइटी पार्क र हब स्थापना गरेर एकैथलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिएको छ । 

छलफलमा सञ्चार मन्त्री शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै मुलुकको डिजिटल रुपान्तरणमा काम गर्नुपर्ने बताइन् । 

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको लगानी वृद्धि गर्न कानुन परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधि प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पारिन । 

यस्तै छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदायस्तरमा पुर्याएर हरेक विद्यालयमा यसलाई प्रतिष्पर्धाको विधा बनाउनुपर्ने बताए ।

सूचना प्रविधिमा विद्यालय तहहुँदै प्रदेश र राष्ट्रियस्तरमा प्रतिष्पर्धा गराएर लाखौं युवाहरुलाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उनको भनाइ छ ।