वैज्ञानिकहरूले चामलको दानाजति सानो एक ब्रेन इम्प्लान्ट चिप बनाएका छन्। यो मस्तिष्कभित्र राखिने सानो चिपले मस्तिष्कबाट निस्कने बिजुली संकेतहरू समातेर इन्फ्रारेड उज्यालोबाट बाहिर पठाउँछ।
यस खोजलाई न्यूरोटेक्नोलोजीको दुनियाँमा ठूलो उपलब्धि मानिएको छ। यस यन्त्रको नाम MOTE (एमओटीई) राखिएको छ। यो अहिलेसम्म बनेका सबैभन्दा साना वायरलेस ब्रेन इम्प्लान्टमध्ये एक हो। यसलाई बनाउने इञ्जिनियर एलिएशा मोलनारले मस्तिष्कको गतिविधि मापन गरी वायरलेस रूपमा बाहिर पठाउन सक्ने अहिलेसम्मको सबैभन्दा सानो उपकरण भएको बताएका छन् ।
ब्रेन इम्प्लान्ट चिप एउटा सानो कम्प्युटर चिप हो, जसलाई शल्यक्रियाको माध्यमले मानव मस्तिष्कमा राखिन्छ। यसको उद्देश्य मस्तिष्कलाई सिधै कम्प्युटर र अन्य इलेक्ट्रोनिक उपकरणहरूसँग जोड्नु हो ।
यसले गम्भीर रूपमा पक्षघात वा असक्षम व्यक्ति पनि आफ्नै मस्तिष्कका संकेतहरूले कम्प्युटर नियन्त्रण गर्न सकून् । यो चिपले मस्तिष्कका न्यूरल संकेतहरू पढेर ती संकेतहरूलाई डिजिटल आदेशमा परिवर्तन गर्छ — जसबाट कर्सर सार्ने, खेल खेल्ने वा टाइप गर्ने जस्ता काम सम्भव हुन्छ ।
यो चिप लगभग ३०० माइक्रोन लामो र ७० माइक्रोन चौडाइको छ, साधारण भाषामा भन्नुपर्दा मान्छेको कपालजति पातलो। यो मस्तिष्कका संकेतलाई प्रकाशमा परिवर्तन गरी त्यो प्रकाश मस्तिष्कको ऊतक पार गरी रिसिभरसम्म पुग्ने गर्छ। यस अवधारणामा काम २००१ देखि सुरु भएको थियो र यसलाई वास्तविकतामा बदल्न वैज्ञानिकहरूलाई करिब २० वर्ष लागे।
यो कसरी काम गर्छ?
यो चिपलाई विशेष सामग्रीबाट बनाइएको छ। यसले डाटा प्रकाशको माध्यमबाट पठाउँछ र उही प्रकाशबाट नै ऊर्जा पनि प्राप्त गर्छ। यसमा डाटालाई प्रकाशका पल्समार्फत पठाउने प्रविधि प्रयोग गरिएको छ, जुन प्रविधि स्याटेलाइट सञ्चारमा पनि प्रयोग हुन्छ।
सर्बप्रथम यो उपकरणलाई प्रयोगशालामा बढाइएका सेल कल्चरमा परीक्षण गरिएको थियो। त्यसपछि यसलाई मुसाको मस्तिष्कको त्यो भागमा राखियो जसले मुसाको मूँछ सम्बन्धी सूचना प्रशोधन गर्छ। परीक्षणमा यो चिपले एक वर्षभन्दा बढी समयसम्म निरन्तर रूपमा मस्तिष्कका संकेतहरू सही रूपमा रेकर्ड गरेको देखियो र मुसाहरू पूर्णरूपमा स्वस्थ रहे।
अहिलेसम्म प्रयोगमा आएका ब्रेन चिप वा इलेक्ट्रोडहरू एमआरआई जस्ता परीक्षणहरूसँग सधैं उपयुक्त नहुन सक्छन् र कहिलेकाहीँ मस्तिष्कको ऊतकमा जलन वा सुजन पनि देखिन सक्छ। तर एमओटीई उपकरण एमआरआई–अनुकूल सामग्रीबाट बनेको छ र यसले मस्तिष्कलाई नोक्सान पुर्याउँदैन। तार नहुने भएकाले संक्रमण वा जलनको जोखिम पनि कम हुन्छ।
वैज्ञानिकहरूको विश्वास छ कि यो प्रविधि मस्तिष्क मात्र होइन, स्पाइनल कर्ड र शरीरका अन्य नाजुक भागहरूमा पनि उपयोगी हुन सक्छ। भविष्यमा यसलाई कृत्रिम खोपडी प्लेटमा जोड्ने वा अन्य ऊतकबाट संकेत रेकर्ड गर्ने काममा पनि प्रयोग गर्न सकिनेछ।
शोधकर्ताहरूका अनुसार, “यस प्रविधिले भविष्यमा शरीरभित्र लामो समयसम्म रहँदै मस्तिष्क र स्नायु प्रणालीका गतिविधिहरू निगरानी गर्ने साना र वायरलेस उपकरण बनाउन मद्दत गर्नेछ।”
आईसीटी समाचार