क्लाउड
एन्थ्रोपिकले क्लाउड कम्प्युटिङका लागि ल्याम्ब्डासँग गर्यो ३५ अर्ब डलरको सम्झौता
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो बढ्दो कम्प्युटिङ आवश्यकतालाई पूरा गर्न अमेरिकास्थित एआई क्लाउड प्रदायक ल्याम्ब्डासँग ३५ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।
सान फ्रान्सिस्कोमा मुख्यालय रहेको एन्थ्रोपिकले ल्याम्ब्डासँग छ वर्षका लागि सम्झौता गरेको एएफपीले सम्झौताबारे जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ । यो सम्झौताअन्तर्गत एन्थ्रोपिकले अत्याधुनिक एआई प्रणाली विकास र सञ्चालनका लागि आवश्यक ठूलो मात्राको क्लाउड कम्प्युटिङ क्षमता प्राप्त गर्नेछ ।
क्यालिफोर्नियाको सान होजेमा आधारित ल्याम्ब्डाले एआई कम्पनीहरूलाई उच्च क्षमताको क्लाउड कम्प्युटिङ सेवा उपलब्ध गराउँदै आएको छ । एन्थ्रोपिकसँगको सम्झौता कार्यान्वयनका लागि ल्याम्ब्डाले हट ८ ले निर्माण गरिरहेको डाटा सेन्टरको कम्प्युटिङ पूर्वाधार प्रयोग गर्ने तयारी गरेको बताइएको छ ।
हट ८ मुख्यत: बिटक्वाइन माइनिङ तथा डाटा सेन्टर पूर्वाधार निर्माणमा सक्रिय कम्पनी हो । यसले टेक्साससहित विभिन्न स्थानमा डाटा सेन्टर विकास गरिरहेको छ । यस व्यवस्थामा एनभिडियाको पनि भूमिका रहेको बताइएको छ ।
एन्थ्रोपिक र ल्याम्ब्डा दुवैमा लगानी गरेको एनभिडियाले हट ८ बाट डाटा सेन्टर भाडामा लिने र त्यसपछि ल्याम्ब्डाले उक्त पूर्वाधार प्रयोग गरेबापत एनभिडियालाई भुक्तानी गर्ने व्यवस्था रहेको वाल स्ट्रिट जर्नलले गत साता रिपोर्ट गरेको थियो । यद्यपि, भुक्तानीको रकम सार्वजनिक गरिएको छैन ।
एन्थ्रोपिकले कम्प्युटिङ क्षमता विस्तारका लागि पछिल्लो समय लगातार ठूला सम्झौता गर्दै आएको छ । कम्पनीले हालै बेलायतमा आधारित क्लाउड प्रदायक एनस्केलसँग पनि ४५ अर्ब डलरको छ वर्षे सम्झौता गरेको थियो । उक्त सम्झौताबाट एन्थ्रोपिकले वेस्ट भर्जिनियास्थित पूर्वाधारबाट थप कम्प्युटिङ क्षमता प्राप्त गर्ने बताइएको छ ।
एआई विकासका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधारमा विश्वका प्रमुख प्रविधि कम्पनीहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला एन्थ्रोपिकका यी सम्झौताहरू आएका हुन् ।
उपलब्ध विवरणअनुसार, सन् २०२६ मा मात्रै एन्थ्रोपिकले कम्तीमा १३५ अर्ब डलर बराबरका विभिन्न कम्प्युटिङ सम्झौता गरिसकेको छ । यसले एआई मोडल विकासका लागि आवश्यक चिप, डाटा सेन्टर र क्लाउड पूर्वाधारमा कम्पनीको बढ्दो निर्भरता तथा लगानीलाई समेत देखाउँछ ।
क्लाउड
क्लाउड स्टोरेजका लागि माइक्रोसफ्ट आजुर : कस्ता छन् विशेषता ?
माइक्रोेसफ्ट आजुर माइक्रोेसफ्टले निर्माण गरेकोे एउटो क्लाउड सर्भिस हो । यो माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरको एक विश्वव्यापी स…
क्लाउड स्टोरेजमा अरुभन्दा कसरी फरक छ गुगल क्लाउड प्लाटफर्म ?
गूगलले प्रदान गरेको गूगल क्लाउड एक क्लाउड कम्प्युटिङ सर्भिसहरुको प्लेटफर्म हो, जुन गूगलले आफ्नो गूगल सर्च, यूट्युबजस्ता प्रडक्ट…
उत्कृष्ट ५ क्लाउड स्टोरेजहरु
प्रयोगकर्ता र विभिन्न संगठनहरुले न्यूनतन खर्च गरेर आफ्नो डाटाहरु सेभ गर्न मिल्ने क्लाउड स्टोरेजहरु खोजिरहेका हुन्छन् । त्यसैगर…
क्लाउड कम्प्युटिङका फाइदा
फ्लपी डिस्क, सिडी, युएसबी फ्लास ड्राइभ जस्ता उपकरणहरु डाटा र फाइल सेयरिङको लागि प्रयोग गरिँदै आइरहेको बेला अब भर्चुअल स्प…