कीवर्डहरू -

ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा

ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्कासम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आइतबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजातमा अनधिकृत रूपमा परिवर्तन गरेको आरोप छ ।

उनीहरूले सार्वजनिक खरिद प्रक्रियामा प्रयोग हुने ई-जीपी प्रणालीमा पहुँच पुर्‍याएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ । यस घटनाबारे साइबर ब्यूरोमा निवेदन प्राप्त भएपछि प्रहरीले प्राविधिक अनुसन्धान तथा विश्लेषण सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा तीन जनाको संलग्नता देखिएपछि पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको थियो । अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ । घटनाबारे साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका हुन् ।

सरकारी ठेक्का प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणालीमै अनधिकृत पहुँच पुर्‍याएर कागजात हेरफेर गरिएको आरोप लागेपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनामा थप व्यक्ति संलग्न भए–नभएको तथा कागजात हेरफेरबाट ठेक्का प्रक्रियामा परेको प्रभावबारे अनुसन्धानपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ ।