ललितपुर । ललितपुर महानगरपालिकाले युवालाई सीपमूलक तालिममार्फत रोजगारीसँग जोड्ने उद्देश्यले ग्राफिक डिजाइन तथा प्रि-प्रेससम्बन्धी चार महिने तालिम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको आयोजना तथा चौँरी नारायण फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने तालिममा ललितपुर महानगरपालिकाभित्रका १८ वर्ष उमेर पूरा भएका ४० जना नगरवासीलाई सहभागी गराइने भएको हो । तालिम द क्रिएसन डिजाइन एन्ड प्रिन्ट सोलुसनमार्फत सञ्चालन हुनेछ ।
महानगरपालिकाका अनुसार तालिम उद्योगमा आधारित तथा व्यावसायिक सीप विकासमा केन्द्रित हुनेछ । सहभागीलाई ग्राफिक डिजाइन र प्रि-प्रेससम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिनेछ ।
तालिममा सहभागी हुन इच्छुकले महानगरपालिकाले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी अनलाइन आवेदन दिनुपर्नेछ । आवेदन २०८३ कार्तिक २ गतेभित्र बुझाइ सक्नुपर्ने सूचनामा उल्लेख छ ।
आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, कम्तीमा एसईई उत्तीर्ण गरेको प्रमाण तथा ललितपुर महानगरपालिकामा स्थायी बसोबास खुल्ने कागजात पेस गर्नुपर्नेछ ।
स्थायी बसोबास खुल्ने कागजातका रूपमा बसाइँसराइ वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि मान्य हुने महानगरपालिकाले जनाएको छ ।

आईसीटी समाचार