काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि इच्छुक व्यक्ति तथा आयोजक संस्थाबाट आवेदन माग गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित स्टार्टअप ह्याकाथन आयोजना गर्न लागेको हो ।
कार्यक्रममार्फत छनोट भएका सहभागी तथा आयोजकलाई तोकिएको कार्यविधिअनुसार आर्थिक सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा सहभागी भई आर्थिक सहयोग लिन इच्छुक व्यक्ति वा आयोजक संस्थाले मन्त्रालयले जारी गरेको ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथन अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्रस्ताव पेस गर्नुपर्नेछ ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ । आवेदन [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ भने इच्छुकले मन्त्रालयमै उपस्थित भएर समेत प्रस्ताव दर्ता गराउन सक्नेछन् ।
आवेदनका साथ कार्यविधिको दफा ६ मा तोकिएबमोजिम आवश्यक विवरण र प्रमाणित कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको विस्तृत जानकारी तथा आवेदनसम्बन्धी कार्यविधि मन्त्रालयको वेबसाइट mosti.gov.np मा उपलब्ध रहेको छ ।
मन्त्रालयका अनुसार आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन कार्यालय समयभित्र प्रस्ताव पेस गर्न सकिनेछ ।
आईसीटी समाचार