काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी), नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ को चौथो संस्करण शुक्रबारदेखि सुरु भएको छ ।
‘इनोभेसन फर इम्प्याक्ट’ नारासहित आयोजना गरिएको तीनदिने ह्याकाथनमा देशभरका २८ शैक्षिक संस्थाबाट ६७ जना प्रतियोगी सहभागी भएका छन् । प्रतियोगितामा सहभागी हुन देशभरबाट १६० टोलीले आवेदन दिएका थिए । तीमध्ये अनलाइन मूल्याङ्कनबाट २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
ह्याकाथनमा सहभागी टोलीले नेपालका विभिन्न सामाजिक तथा सार्वजनिक समस्याको सूचना प्रविधिमा आधारित समाधान विकास गर्नेछन् । आयोजकका अनुसार यस वर्षको प्रतियोगिता पाँच विषयगत क्षेत्रमा केन्द्रित छ ।
जसमा जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई-गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा तथा फिनटेक र डिजिटल वित्तीय नवप्रवर्तन रहेका छन् ।
ह्याकाथनको उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्ययनसँगै समाजमा देखिएका समस्याको समाधान खोज्न सूचना प्रविधिका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
“सहभागी विद्यार्थी टोलीले नेपाल केन्द्रित समस्याको सूचना प्रविधिमा आधारित समाधानको खोजी गर्नेछन्,” उनले भने । क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताए ।
उनका अनुसार ‘आइडियाएक्स’ कार्यक्रम सुरुमा आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित रहेपनि अहिले राष्ट्रियस्तरको ह्याकाथनका रूपमा विस्तार भएको हो ।
कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीका अनुसार सहभागी टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान गर्ने, त्यसको समाधानको नमुना तयार पार्ने र निर्णायकसमक्ष प्रस्तुत गर्नेछन् ।
उनले सीमित समयभित्र टोलीमा रहेर काम गर्ने, निर्णय लिने तथा आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गर्न ह्याकाथन उपयोगी हुने बताए ।
प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीलाई पुरस्कार प्रदान गरिनेछ ।
आईसीटी समाचार