कीवर्डहरू -

रास्वपा प्रतिनिधिमण्डल र सिचुवानका सचिव वाङबीच भेटवार्ता, पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

रास्वपा प्रतिनिधिमण्डल र सिचुवानका सचिव वाङबीच भेटवार्ता, पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

काठमाडौं । नेपाली र चिनियाँ राजनीतिक नेतृत्वबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यलाई ठोस विकास परियोजनामा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ सियाओहुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलबीच चीनको चेङ्दुमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास, आर्थिक साझेदारी र साझा समृद्धिको आधार बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

छलफलका क्रममा नेपाली प्रतिनिधिमण्डलले मुख्यतः पाँच क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेको छ । जसमा सुरक्षित सीमापार यातायात तथा व्यापार, पर्वतीय विज्ञान र विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा तथा हरित उद्योग, हवाई सम्पर्क तथा पर्यटन र युवा एवं डिजिटल नवप्रवर्तन रहेका छन् ।

विपद्मा चीनले गरेको सहयोगको प्रशंसा
भेटका क्रममा सिचुवान प्रान्तीय सचिव वाङले नेपाल र चीनबीच हजारौँ वर्षदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै दुवै देश असल छिमेकी, मित्र तथा साझेदार रहेको बताए ।

गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको गेग्रानसहितको बाढीले नेपाल र चीन दुवैतर्फ जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको जानकारी दिए ।

चीनले आफ्नै क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालन गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको उनले बताए । त्यस अवसरमा नेपाली प्रतिनिधिमण्डलले भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेको थियो । विपद्को समयमा चीनले देखाएको सहयोग र ऐक्यबद्धतालाई नेपालले सधैँ स्मरण गर्ने प्रतिनिधिमण्डलको भनाइ थियो ।

राजनीतिक विश्वास र पारस्परिक सम्मानमा जोड
भेटमा रास्वपाले नेपालको राजनीतिक अवस्था, आफ्नो पार्टीको उद्देश्य तथा चीनसँगको सम्बन्धप्रतिको दृष्टिकोणबारे जानकारी गराएको थियो । राजनीतिलाई थप जिम्मेवार, पारदर्शी र जनताको आवश्यकतामा केन्द्रित बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै रास्वपाले राजनीतिक प्रणाली र अनुभव फरक भएपनि नागरिकको विश्वासलाई सम्मान, कल्याण र समृद्धिमा रूपान्तरण गर्नु दुवै पक्षको साझा जिम्मेवारी भएको बताएको थियो ।

प्रतिनिधिमण्डलले नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको पञ्चशीलका सिद्धान्त, स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमिकता एवं भौगोलिक अखण्डताप्रतिको पारस्परिक सम्मानमा आधारित सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

त्यस्तै, एक चीन सिद्धान्तप्रति नेपालको दशकौँदेखिको स्थिर अडान पुन: स्पष्ट पार्दै नेपाली भूमि चीनको सार्वभौमिकता तथा सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । रास्वपाले चीनको कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक अनुभव र शासन सञ्चालनसम्बन्धी अभ्यासलाई खुला तथा जिज्ञासु दृष्टिकोणबाट बुझ्न चाहेको पनि जनाएको थियो ।

समझदारी कार्यान्वयनमा सिचुवानको भूमिका
वाङले नेपाल र चीनबीच उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्य क्रमश: अघि बढिरहेको उल्लेख गर्दै नेपालसँग निकट सम्बन्ध भएका चिनियाँ प्रान्तमध्ये सिचुवान पनि एक रहेको बताए ।

दुवै देशका नेतृत्वबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय तहका पार्टी तथा सरकारी निकायबीचको सम्बन्ध थप घनिष्ठ बनाउने र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने बताए ।

रास्वपा महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासका उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । चीनको पश्चिमी क्षेत्रको महत्त्वपूर्ण प्रान्त सिचुवानलाई नेपालका लागि पनि महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै उनले पारस्परिक लाभका क्षेत्रमा सम्बन्ध विस्तार गर्न चाहेको बताए ।

सहकार्यका पाँच प्राथमिकता
भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलले नेपाल र सिचुवानबीच सहकार्य विस्तार गर्न पाँच प्राथमिकता प्रस्तुत गरेको थियो ।

१. सुरक्षित सीमापार यातायात तथा व्यापार
पछिल्ला प्राकृतिक विपद्ले वर्षभरि सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता उजागर गरेको भन्दै नेपाली पक्षले हिमालपार व्यापार तथा आवागमनलाई सुरक्षित र भरपर्दो बनाउन सहकार्य प्रस्ताव गरेको थियो ।

२. पर्वतीय विज्ञान तथा विपद् व्यवस्थापन
नेपाल र सिचुवानको पर्वतीय वातावरण तथा प्राकृतिक विपद्का जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञहरूबीच सहकार्य गर्न सकिने प्रस्ताव गरिएको थियो ।

मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक निर्माण तथा विपद् पूर्वतयारीसम्बन्धी ज्ञान र सूचना आदानप्रदानमार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने नेपाली पक्षको धारणा थियो ।

३. स्वच्छ ऊर्जा तथा हरित उद्योग
नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्ने प्रस्ताव गरिएको थियो । जलविद्युत्का अतिरिक्त हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन तथा ब्याट्री उत्पादनका क्षेत्रमा समेत साझेदारीको सम्भावना औँल्याइएको थियो ।

४. हवाई सम्पर्क, पर्यटन तथा व्यापार
चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवाका लागि थप प्रत्यक्ष हवाई उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको थियो । यसले पर्यटन, व्यावसायिक आवागमन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

त्यस्तै, चीनतर्फ नेपाली जडीबुटी, चिया, फलफूल तथा हस्तकलाका सामग्रीको निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचका क्षेत्रमा प्राविधिक तथा व्यावसायिक सहयोग आवश्यक रहेको विषय पनि उठाइएको थियो ।

५. युवा तथा डिजिटल नवप्रवर्तन
नेपालका प्रविधिमा रुचि राख्ने युवा र स्वच्छ विद्युत्को सम्भावनालाई सिचुवानको अनुसन्धान क्षमतासँग जोडेर कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम तथा हरित डेटा सेन्टरका क्षेत्रमा सहकार्य गर्न सकिने प्रस्ताव गरिएको थियो ।

संयुक्त अनुसन्धान, सीप विकास र ज्ञान आदानप्रदानमार्फत नेपाली युवाका लागि नयाँ अवसर सिर्जना गर्न सकिने प्रतिनिधिमण्डलको भनाइ थियो ।

संवादलाई ठोस कार्यान्वयनमा लैजाने प्रतिबद्धता
भेटवार्तामा नेपाली पक्षले नेपाल र चीनबीच भएका समझदारीलाई व्यवहारमा उतार्न स्पष्ट प्राथमिकता, व्यावहारिक कार्ययोजना र कार्यान्वयनको समयसीमा निर्धारण गर्नुपर्नेमा जोड दिएको थियो ।

विगतमा राजनीतिक अस्थिरता र गठबन्धन परिवर्तनका कारण राम्रा उद्देश्यसहित अघि सारिएका कतिपय परियोजना कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले अहिले स्पष्ट राजनीतिक इच्छाशक्ति र कार्यान्वयन क्षमता भएको स्थिर सरकारको प्रतिनिधित्व गर्दै आएको बताएको थियो ।

दुवै देशलाई प्रत्यक्ष लाभ पुग्ने र उल्लेखनीय परिवर्तन ल्याउन सक्ने परियोजनामा पुराना नियम तथा प्रशासनिक अवरोधका कारण ढिलाइ भइरहे त्यस विषयलाई खुला रूपमा उठाएर आवश्यक सुधार अघि बढाउनुपर्ने नेपाली पक्षको धारणा थियो ।

सिचुवानको ऐतिहासिक दुजियाङयान सिँचाइ प्रणालीको उदाहरण प्रस्तुत गर्दै नेपाली प्रतिनिधिमण्डलले दूरदृष्टि र विवेकपूर्ण व्यवस्थापनबाट चुनौतीपूर्ण परिस्थितिलाई समेत दीर्घकालीन समृद्धिको आधार बनाउन सकिने बताएको थियो ।

भेटको अन्त्यमा महामन्त्री आचार्यले वाङ तथा सिचुवान प्रान्तीय पार्टी समितिका सहकर्मीहरूलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

भेटमा सिचुवानका प्रान्तीय नेता यान छङछिङ र रेन झङदोङलगायत चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग तथा सम्बन्धित प्रान्तीय निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

यो भेटलाई नेपाल–चीनबीचको राजनीतिक विश्वासलाई आर्थिक, प्राविधिक तथा विकास साझेदारीमा रूपान्तरण गर्ने दिशामा भएको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ ।