काठमाडौं । विश्वका प्रतिष्ठित सञ्चारमाध्यम, बैंक तथा बहुराष्ट्रिय कम्पनीका वेबसाइटलाई माध्यम बनाएर व्यापक साइबर आक्रमण गरिएको खुलासा भएको छ । बीबीसी, सीएनएन, जुम, एचएसबीसी, इक्विफ्याक्स, सेल्सफोर्स र आइकियासहित १७८ संस्थाका वेबसाइटमा हानिकारक जाभास्क्रिप्ट कोड राखेर प्रयोगकर्ताको संवेदनशील विवरण चोरी गर्ने प्रयास गरिएको पाइएको हो ।
साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार वेबसाइट परीक्षण र व्यवस्थापनमा प्रयोग हुने ‘अप्टिमाइजली’ (Optimizely) प्लेटफर्ममा रहेको सुरक्षा कमजोरीको दुरुपयोग गर्दै आक्रमणकारीले विभिन्न वेबसाइटमा हानिकारक कोड घुसाएका थिए । उक्त कोड वेबसाइटमा आउने आगन्तुकको गतिविधि निगरानी गरी उनीहरूको व्यक्तिगत तथा वित्तीय विवरण संकलन गर्न प्रयोग गरिएको थियो ।
अनुसन्धानका अनुसार आक्रमणकारीले प्रयोगकर्ताले वेबसाइटमा प्रविष्ट गर्ने क्रेडिट कार्ड नम्बर, कार्डको सुरक्षा कोड तथा भुक्तानीसम्बन्धी अन्य जानकारी चोर्न सक्ने गरी कोड तयार पारेका थिए । त्यस्तै, क्रिप्टोकरेन्सी कारोबारका क्रममा प्रयोग हुने वालेट ठेगाना परिवर्तन गर्ने, ब्राउजरका कुकी संकलन गर्ने र प्रयोगकर्ताको स्क्रिनसट लिने क्षमतासमेत उक्त कोडमा रहेको बताइएको छ ।
एप्पलका उपकरणसमेत जोखिममा
यो साइबर आक्रमणको निशानामा कम्प्युटर प्रयोगकर्ता मात्र नभई एप्पलका आईफोन तथा आईप्याड प्रयोगकर्ता पनि परेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हानिकारक कोडमार्फत एप्पलका मोबाइल उपकरणमा रहेका सुरक्षा कमजोरीको फाइदा उठाउने प्रयास गरिएको उनीहरूको भनाइ छ ।
रोयटर्सका अनुसार आक्रमणसँग सम्बन्धित क्रिप्टोकरेन्सी वालेटमा करिब ७ हजार ४० अमेरिकी डलर जम्मा भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यद्यपि, अहिलेसम्म कति प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय विवरण चोरी भयो भन्ने स्पष्ट हुन सकेको छैन ।
यस घटनापछि अप्टिमाइजलीले आफ्नो प्लेटफर्ममा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ । कम्पनीले सुरक्षा कमजोरी पहिचान गरी समाधान गरिसकेको र सम्भावित रूपमा प्रभावित ग्राहकलाई जानकारी गराएको जनाएको छ ।
वेबसाइट ह्याक हुनु र आन्तरिक प्रणालीमा पहुँच हुनु फरक
यस घटनामा एउटा महत्त्वपूर्ण पक्ष के छ भने बीबीसी, सीएनएनलगायत १७८ संस्थाका सम्पूर्ण आन्तरिक कम्प्युटर प्रणाली ह्याक भएका होइनन् । ती संस्थाका वेबसाइटमा प्रयोग भइरहेको तेस्रो पक्षको स्क्रिप्टलाई माध्यम बनाएर वेबसाइट भ्रमण गर्ने प्रयोगकर्तालाई लक्षित गरिएको हो ।
यस प्रकारको आक्रमणमा प्रयोगकर्ताले विश्वसनीय र चर्चित वेबसाइट प्रयोग गरिरहेको भएपनि त्यसमा जोडिएको तेस्रो पक्षको कोडमार्फत उनीहरूको विवरण जोखिममा पर्न सक्छ ।
साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रयोगकर्तालाई ब्राउजर तथा मोबाइल उपकरणको सफ्टवेयर नियमित रूपमा अपडेट गर्न, बैंक खातामा हुने कारोबार निगरानी गर्न र शंकास्पद गतिविधि देखिए तत्काल बैंकलाई जानकारी गराउन सुझाव दिइएको छ ।
प्रभावित वेबसाइटमा क्रेडिट कार्ड वा अन्य भुक्तानी विवरण प्रविष्ट गरेको आशंका भए सम्बन्धित बैंकसँग सम्पर्क गरी आवश्यक सुरक्षा उपाय अपनाउन पनि आग्रह गरिएको छ ।
आईसीटी समाचार