काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनको क्षेत्रमा नवीनतम सोच, सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनसम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रममा सहभागी हुन इच्छुक संस्था तथा आयोजक संस्थालाई आवेदन दिन आह्वान गरेको हो ।
मन्त्रालयले पुन: प्रकाशित सूचना जारी गर्दै उक्त कार्यक्रममा आर्थिक सहयोग प्राप्त गर्न प्रतिस्पर्धामा सहभागी हुन चाहने संस्थालाई सात दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार इच्छुक संस्था तथा आयोजक संस्थाले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनसम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथन अनुदान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ (संशोधनसहित) बमोजिम आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिनुपर्नेछ ।
कार्यविधिको दफा ७ मा उल्लेख गरिएका आवश्यक विवरण तथा प्रमाणित कागजातसहितको निवेदन मन्त्रालयको इमेल [email protected] मा पठाउन वा मन्त्रालयमा स्वयं उपस्थित भएर बुझाउन सकिने मन्त्रालयले जनाएको छ । सम्बन्धित कार्यविधि मन्त्रालयको आधिकारिक वेबसाइट www.mosti.gov.np बाट प्राप्त गर्न सकिनेछ ।
यसअघि प्रकाशित सूचनाअनुसार प्राप्त भएका आवेदन र पुन: प्रकाशित सूचनाअनुसार प्राप्त हुने आवेदनलाई एकैसाथ छनोट प्रक्रियामा समावेश गरी मूल्याङ्कन तथा छनोट गरिने मन्त्रालयले स्पष्ट पारेको छ । त्यस्तै, आवेदन दिने संस्थाले प्रस्तावित कार्यक्रम प्रदेशस्तरको हो वा राष्ट्रियस्तरको हो भन्ने विषय समेत स्पष्ट खुलाउनुपर्नेछ ।
मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनको क्षेत्रमा काम गरिरहेका इच्छुक संस्था तथा आयोजक संस्थालाई तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको हो ।

आईसीटी समाचार