कीवर्डहरू -

काठमाडौं महानगरको डिजिटल नक्सामा २ लाख १० हजारभन्दा बढी भवन

काठमाडौं महानगरको डिजिटल नक्सामा २ लाख १० हजारभन्दा बढी भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले हालसम्म २ लाख १० हजार ९७६ भवन र १ हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार नक्साङ्कन भएका २ हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक भौगोलिक सूचना प्रणालीमा अभिलेखीकरण गरिएको छ ।

यसैगरी, २५ हजार १९ भवनको प्रमाणीकरण समेत सम्पन्न भइसकेको छ । महानगरपालिकाले विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदास्थल तथा विभिन्न सार्वजनिक संरचनाको डिजिटल अभिलेखसमेत तयार गरेको जनाएको छ ।

अब महानगर क्षेत्रभित्र रहेका सबै कित्ताको विवरण तयार गरी भू-उपयोग वर्गीकरणको प्रक्रिया अघि बढाइने भएको छ । त्यसका लागि अस्थायी रूपमा ‘भू-सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने तयारी गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले ३२ वटै वडाबाट भू-सेवा सञ्चालन गर्ने र नापी तथा मालपोतसम्बन्धी सेवा केन्द्रबाटै उपलब्ध गराउने लक्ष्यसमेत अघि सारेको छ ।