वीरगञ्ज । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत सफ्टवेयर निर्माण गर्ने सीप विकास गर्ने उद्देश्यले वीरगञ्जमा ६ दिने ‘एआई-असिस्टेड सफ्टवेयर इन्जिनियरिङ’ बुटक्याम्प सुरु भएको छ । नोभेम्बर १ देखि वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको तालिममा २८ जना युवा सहभागी छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा सञ्चालित यस कार्यक्रममार्फत सहभागी युवालाई सामान्य अवधारणालाई व्यावहारिक रूपमा वेब उत्पादनमा रूपान्तरण गरी अनलाइनमा सार्वजनिक गर्न सक्ने सीप प्रदान गरिनेछ ।
तालिममा सहभागीहरूले एआई उपकरणको प्रयोग गर्दै सुरुदेखि नै वेबसाइट तथा वेबमा आधारित उत्पादन निर्माण गर्ने अभ्यास गरिरहेका छन् । तालिममा मधेसी, मुस्लिमलगायत विभिन्न समुदायका युवाको सहभागिता रहेको छ ।

सहभागीहरूलाई आधुनिक प्रविधि कम्पनीमा हुने कार्यविभाजनअनुसार समूहमा विभाजन गरी उत्पादन व्यवस्थापन, डिजाइन, सफ्टवेयर विकास, गुणस्तर परीक्षण (क्यूए) तथा डेभअप्ससम्बन्धी जिम्मेवारी दिइएको छ ।
बुटक्याम्पका क्रममा सहभागीले GitHub, .np डोमेन र Netlify जस्ता प्रविधि तथा प्लेटफर्म प्रयोग गरी आफूले विकास गरेका परियोजनालाई वास्तविक रूपमा अनलाइनमा सार्वजनिक गर्नेछन् ।
तालिमको अन्तिम दिन आयोजना हुने ‘डेमो डे’मा प्रत्येक समूहले आफूले निर्माण गरेका उत्पादन मेन्टर, सहकर्मी तथा प्रविधि क्षेत्रका प्रतिनिधिसामु प्रस्तुत गर्नेछन् । त्यसपछि सहभागीलाई प्रमाणपत्रसहित दीक्षान्त गरिने कार्यक्रम छ ।
यो वीरगञ्जमा सञ्चालन भइरहेको CODE परियोजनाअन्तर्गतको दोस्रो तालिम हो । यसअघि अक्टोबर महिनामा युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तथा सामाग्री सिर्जनासम्बन्धी तालिम आयोजना गरिएको थियो ।

युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित CODE परियोजनाको नेतृत्व Swisscontact ले गरिरहेको छ । परियोजनामा Restless Development र Robotics Association of Nepal साझेदार संस्थाका रूपमा रहेका छन् ।
बुटक्याम्प Leapfrog Connect ले सञ्चालन गरेको हो भने वीरगञ्ज उद्योग वाणिज्य संघले इकोसिस्टम साझेदारका रूपमा सहकार्य गरेको छ ।
आईसीटी समाचार