काठमाडौं । दैनिक प्रयोग हुने जीमेलमा विभिन्न व्यक्ति, संस्था तथा अनलाइन प्लेटफर्मबाट ईमेल प्राप्त हुनु सामान्य हो । आवश्यक जानकारीसँगै कतिपय अवस्थामा विज्ञापन, प्रमोसन तथा अन्य अनावश्यक सन्देशले इनबक्स भरिने गर्छन् ।
यस्ता ईमेलले महत्वपूर्ण सन्देश छुट्ने र इनबक्स व्यवस्थापन गर्नसमेत झन्झट हुने गर्छ । तर, जीमेलमा उपलब्ध केही सुविधाको प्रयोग गरेर यस्ता अनावश्यक ईमेलबाट छुटकारा पाउन सकिन्छ ।
जीमेलले कुनै निश्चित प्रेषकको ईमेल ब्लक गर्ने र विभिन्न कम्पनी तथा वेबसाइटबाट आउने प्रमोसनल ईमेल अनसब्स्क्राइब गर्ने सुविधा उपलब्ध गराएको छ । यी दुई सुविधाको प्रयोगबाट आफ्नो इनबक्सलाई व्यवस्थित राख्न सकिन्छ ।
कुनै ईमेल एड्रेसलाई कसरी ब्लक गर्ने ?
यदि कुनै व्यक्तिबाट बारम्बार अनावश्यक ईमेल आइरहेको छ भने उसको ईमेल एड्रेस ब्लक गर्न सकिन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् :
- सबैभन्दा पहिले जीमेल एप वा वेबसाइट खोल्नुहोस् ।
- ब्लक गर्न चाहेको व्यक्तिले पठाएको कुनै एउटा ईमेल खोल्नुहोस् ।
- ईमेलको माथिल्लो भागमा प्रेषकको नाम वा ईमेल एड्रेससँगै रहेको तीनवटा थोप्ला (More) मा क्लिक गर्नुहोस् ।
- देखिने विकल्पमध्ये ‘Block [Sender Name]’ चयन गर्नुहोस् ।
- त्यसपछि उक्त प्रेषकबाट आउने नयाँ ईमेल स्वत: स्पाम फोल्डरमा जानेछन् ।
यसरी ब्लक गरेपछि पनि प्रेषकले ईमेल पठाउन भने सक्छ । तर, ती सन्देश नियमित इनबक्समा नदेखिई स्पाम फोल्डरमा पुग्छन् ।
अनावश्यक प्रमोसनल ईमेल कसरी रोक्ने ?
फेसबुक, एक्स (ट्विटर), लिङ्क्डइन, युट्युब तथा अन्य वेबसाइटमा अकाउन्ट बनाउँदा ईमेल अपडेट प्राप्त गर्ने विकल्प सक्रिय भएको हुन सक्छ । त्यसैले यस्ता प्लेटफर्मबाट नियमित रूपमा सूचना, विज्ञापन तथा प्रमोसनल ईमेल आइरहेका हुन्छन् ।
यदि यस्ता ईमेल आवश्यक छैनन् भने अनसब्स्क्राइब गर्न सकिन्छ ।
- जीमेल खोल्नुहोस् ।
- अनसब्स्क्राइब गर्न चाहेको कम्पनी वा प्लेटफर्मबाट आएको ईमेल खोल्नुहोस् ।
- प्रेषकको नाम वा ईमेल एड्रेस नजिक रहेको ‘Unsubscribe’ विकल्प खोज्नुहोस् ।
- उक्त विकल्पमा क्लिक गर्नुहोस् ।
- त्यसपछि देखिने निर्देशन पालना गरी अनसब्स्क्रिप्सन प्रक्रिया पूरा गर्नुहोस् ।
केही ईमेलमा ‘Unsubscribe’ विकल्प सन्देशको सबैभन्दा तल पनि राखिएको हुन्छ । त्यहाँ क्लिक गरेर पनि प्रमोसनल ईमेल प्राप्त हुन बन्द गर्न सकिन्छ ।
ब्लक र अनसब्स्क्राइबमा के फरक छ ?
ईमेल ब्लक गर्दा सम्बन्धित प्रेषकबाट आउने नयाँ सन्देश इनबक्समा नआएर स्पाम फोल्डरमा जान्छन् । तर, अनसब्स्क्राइब गर्दा सम्बन्धित कम्पनी वा प्लेटफर्मको प्रमोसनल ईमेल सूचीबाट आफ्नो एड्रेस हटाउन अनुरोध गरिन्छ ।
त्यसैले कुनै व्यक्तिबाट आउने अनावश्यक सन्देश रोक्न ब्लक गर्ने र आफूले प्रयोग गर्ने वेबसाइट वा कम्पनीबाट आउने विज्ञापन तथा अपडेट बन्द गर्न अनसब्स्क्राइब गर्ने विकल्प उपयुक्त हुन्छ ।
आईसीटी समाचार