कीवर्डहरू -

फोहोरलाई अवसरमा बदल्ने उद्देश्यसहित काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिसन २०२६’ हुँदै

फोहोरलाई अवसरमा बदल्ने उद्देश्यसहित काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिसन २०२६’ हुँदै

अन्तर्राष्ट्रिय जिरो वेस्ट दिवसको अवसरमा काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिसन २०२६’ आयोजना भएको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान), यसअन्तर्गतका ३५ रोटरी क्लब, रोट्रयाक्ट/इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२ तथा एनभाइरनमेन्टल सस्टेनेबिलिटी रोटरी एक्सन ग्रुप (ESRAG) को संयुक्त आयोजनामा प्रदर्शनी भईरहेको हो।

कार्यक्रम चैत १६–१७, २०८२ (मार्च ३०–३१, २०२६) मा काठमाडौंको ललितकला परिषद्, नक्साल मा हुँदैछ। आयोजकका अनुसार प्रदर्शनी  बिहान ११ बजेदेखि सञ्चालन हुनेछ र प्रवेश निःशुल्क रहनेछ।

प्रदर्शनीलाई शहरी विकास तथा भवन निर्माण विभाग/शहरी विकास मन्त्रालय, युनाइटेड नेसन ग्लोबल कम्प्याक्ट नेपाल, र एनभाइरनमेन्टल क्याम्प्स फर कन्जर्भेसन अवेयरनेस (ECCA) ले सहयोग गरेका छन्। कार्यक्रम हेकाफ ३६० र ब्लू वेस्ट टु भ्यालु को साझेदारीमा आयोजना गरिएको हो।

आयोजकहरूले “परिवर्तनको सुरुवात आफैंबाट गरौं – फोहोर घटाऔं, पुन:प्रयोग बढाऔं, र पुनर्चक्रणलाई अँगालौं” भन्ने मूल सन्देशका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन्। प्रदर्शनीको उद्देश्य दिगो जीवनशैली प्रवर्द्धन गर्नु, स्वच्छ वातावरण निर्माणमा नागरिक सहभागिता बढाउनु र वृत्तीय अर्थतन्त्रका अभ्यासलाई व्यावहारिक रूपमा अघि बढाउनु रहेको छ।

कार्यक्रममा फोहोर व्यवस्थापन, पुन:प्रयोग, पुनर्चक्रण र अपसाइक्लिङसँग सम्बन्धित नवीन अभ्यास, प्रविधि र उद्यमहरूको प्रदर्शनी हुनेछ। आयोजकका अनुसार यसले फोहोर उत्पादन घटाउने, स्रोतको सदुपयोग बढाउने र दिगो उपभोगतर्फ ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइरालाले गर्ने कार्यक्रम छ।

कार्यक्रमको दोस्रो दिन “भन्दा पर: जिरो वेस्ट भविष्यका लागि प्रणालीहरूको पुन:डिजाइन” शीर्षकमा विशेष प्यानल छलफल हुनेछ। उक्त सत्रमा नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि, उद्यमी र वातावरणविद् सहभागी हुनेछन्।

प्यानलमा शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, Blue Waste to Value का सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जन, यूएन ग्लोबल कम्प्याक्ट नेपालका अध्यक्ष समीर थापा, WFPCO का अध्यक्ष विष्णु थकाली र प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म का अध्यक्ष अरुण श्रेष्ठ सहभागी हुनेछन्।

सत्रको अध्यक्षता रोटेरियन विभूति मान सिंह ले गर्नेछन् भने सञ्चालन रोटेरियन डा. दिनेश राज मानन्धर ले गर्नेछन्। मिस नेपाल २०२३ तथा वातावरणकर्मी सृच्छा प्रधान ले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

आयोजकहरूले अनियन्त्रित फोहोर उत्पादन, ल्यान्डफिलमा निर्भरता, प्लास्टिक प्रदूषण र अकुशल स्रोत उपयोगजस्ता समस्या समाधानका लागि यस्ता बहु-सरोकारवाला कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका वातावरण समिति संयोजक रोटेरियन योगेश शाक्य ले फोहोरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। उनका अनुसार प्रदर्शनीले हरित उद्यमलाई बजारसँग जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन दिने र युवालाई दिगो जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा ४० देखि ५० वटा पुनर्चक्रण र अपसाइक्लिङ उद्यमका स्टल, वातावरणीय प्रदर्शनी बुथ, DIY प्रदर्शन, श्रव्यदृश्य प्रस्तुति, विज्ञ तथा सरोकारवाला बीच प्यानल छलफल, तथा खानेकुरा र सामूहिक गतिविधिहरू छन्।