यातायात कार्यालयहरूमा ब्लुबुक नवीकरण गरिदिने भन्दै सेवाग्राहीहरूलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालयहरूमा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने र सेवाग्राहीहरूलाई दुःख दिने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको साथबाट नगद एक लाख २२ हजार रुपैयाँ र ५३ थान ब्लुबुक समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
स्वयम्भू वृत्तको टोलीले सानोभर्याङस्थित यातायात कार्यालयबाट आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
यस्तै, गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरी वृत्त थानकोटले आठ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले पक्राउ परेका सबै १६ जनामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
बिचौलियाको चलखेल र सेवाग्राहीले भोग्नुपर्ने दुःख कम गर्न प्रहरीले निगरानी बढाएको छ।
आईसीटी समाचार