दैनिक २५ देखि ३० हजार सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिन थालेका छन् ।
शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले दैनिक २५ देखि ३० हजारले नागरिक एपबाट लाइसेन्स देखाउने गरेको र १७ सयले नागरिक एपबाटै जरिवाना दिने गरेको जानकारी दिएका हुन् ।
‘उपत्यका ट्राफिक प्रहरी कार्यालयको हाल सम्मको विवरण अनुसार प्रतिदिन २५ देखि ३० हजार सम्मको संख्यामा सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिएको र प्रतिदिन कारबाहीमा परेका करिब २२ सय सवारी चालक मध्ये १७ सय जनाले नागरिक एपमार्फत जरिवाना दिएको जानकारी प्राप्त भएको छ,’ कार्यक्रममा मन्त्री महर्जनले भनेका थिए ।
सरकारले २०७७ सालमा सबै किसिमका सरकारी र सार्वजनिक सेवा मोबाइलबाटै दिनेगरी नागरिक एप सञ्चालनमा ल्याएको थियो । अहिले नागरिक एपमा ६५ बढी सेवा सुविधा उपलब्ध रहेका छन् भने विस्तारै अन्य सेवा पनि थप हुँदै जाने छन् ।