राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले नेपालमा अर्को गूगल, मेटा, च्याटजीपीटी जन्मन लागेको जस्तो गरेर स्टार्टअप कर्जाको प्रचार गरिएको बताएका छन् ।
प्रतिनिधि सभामा बोल्दै सांसद वाग्लेले प्रविधि क्षेत्रमा के के न हुन लाग्यो जस्तो प्रचार गरिएपनि गहिरिएर हेर्दा खोक्रो नै देखिएको टिप्पणी गरेका हुन् ।
‘हिजो संयोगले प्रधानमन्त्रीकै फेसबुकमा स्टार्टअप कर्जाको विज्ञापन देखेको थिए । ६६१ वटा कर्जा प्रदान गरिएको रहेछ । नेपालमै अर्को गुगल, अर्को मेटा, अर्को च्याट जीपीटी जन्मन लागेको जस्तो गरियो,’ वाग्लेले भने, ‘मैले हेर्दा ३४० वटा माछा, दुध, बाख्रा, कुखुरा इत्यादि रहेछन् । त्यसलाई मैले होच्याउन खोजेको होइन । यो लघु उद्यमसँग सम्बन्धित छन् । टेक स्टार्टअप भनिसकेपछि हाम्रो एक्सपेक्टेसन अर्कै हुन्छ ।’
उनले अगाडि भने, ‘टेलरिङमा ३३ वटा रैछ । मसला, दालमोठ, कागजको प्लेटमा ६५ वटा जति रैछ । आईटी एप्लिकेसन चाहिँ जम्मा १७ वटा रैछ । भन्दा खेरि चाँहि प्रविधि क्षेत्रमा के के न हुन लाग्यो जस्तो भन्ने आशय दिइएको छ ।’
उनले सुदूरपश्चिमका लागि १२० वटा र बैतडीको लागि मात्रै २७ वटा परियोजना छुट्याइएको भन्दै आलोचना पनि गरेका छन् । अहिलेका उद्योगमन्त्री दामोदर भण्डारी बैतडीका हुन् ।
प्रचार गरिएका राम्रा कुराहरूको पनि गहिरिएर हेर्दा खोक्रो नै देखिएको जस्तो लाग्ने उनले बताए ।