कीवर्डहरू -

एआईले ल्याउने ७ ठूला खतरा: रोजगारीदेखि हतियारसम्म

एआईले ल्याउने ७ ठूला खतरा: रोजगारीदेखि हतियारसम्म

कृत्रिम बुद्धिमत्ता (एआई) ले हाम्रो दैनिकीलाई सहज बनाउन धेरै अवसर र नवप्रवर्तन ल्याएको छ, तर त्यसैसँग गम्भीर चिन्ताहरू पनि उठेका छन् । एआईले रोजगारी खोस्न सक्ने डर धेरैमा छ ।

फोर्ब्सको रिपोर्टले एआईले रोजगार, गोपनीयता, वातावरण, सुरक्षा र सिर्जनात्मक अधिकारसम्मम पार्ने नकारात्मक प्रभावको संकेत गरेको छ ।

आज हामी एआईले कुन कुन ठाउँमा जोखिम निम्त्याउन सक्छ भनेर जानकारी दिदैछौं । 

१) रोजगारी कटौती

यो कुरा स्पष्टै देखिन्छ कि एआईका कारण रोजगारी बजार (जब मार्केट) प्रभावित हुनेछ। मेसिन र रोबोटहरू मानिसभन्दा सस्तो र छिटो काम गर्न सक्छन्। यसले धेरै क्षेत्रमा मानिसहरू बेरोजगार हुन सक्ने अवस्था सिर्जना गर्न सक्छ।

सफ्टवेयर इन्जिनियरिङ , ग्राफिक डिजाइन र भ्वाइस ओभर जस्ता काम गर्नेहरूका ठाउँमा एआई सजिलैले प्रवेश गर्न सक्छ। वर्ल्ड इकनमिक फोरमले पनि यसबारे चेतावनी दिएको छ। यद्यपि, सरकारहरूले यस चुनौतीको सामना गर्न अहिलेसम्म विशेष कदम उठाएका छैनन्।

वर्ल्च इकोनोमिक फोरमको Future of Jobs Report 2025 अनुसार, ४१ प्रतिशत कम्पनीहरूले २०३० सम्म आफ्नो कर्मचारी कटौती गर्न एआईको उपयोग गर्ने योजना बनाइरहेका छन् । संयुक्त राज्यमा यो संख्या ४८ प्रतिशत छ ।

तथापि, रिपोर्टले यस अवधि भित्र १७० मिलियन नयाँ रोजगारीहरू सिर्जना हुने र ९२ मिलियन पुराना रोजगारीहरू समाप्त हुने जनाएको छ । यस अनुसार सन् २०३० सम्म कुल ७८ मिलियन नेट नयाँ रोजगारीको सिर्जना हुनेछन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को रिपोर्ट अनुसार विश्वव्यापी रूपमा करिब ४० प्रतिशत कामकाजी क्षेत्रमा एआईले प्रभाव पार्न सक्छ। कुनै अन्य विश्लेषण अनुसार, OECD–सहितका केही विश्वव्यापी सर्वेक्षणहरूले शक्तिशाली एआईले लगभग १०प्रतिशत रोजगारीहरूलाई स्वचालित गर्न सक्ने देखाएका छन् ।

अर्कोतिर, Barclays को अध्ययनले भन्छ कि केवल १० प्रतिशत भन्दा कम प्राथमिक कार्यहरू मात्र एआईद्वारा प्रभावकारी रूपमा पूरा गर्न सकिने छन् ।  अधिकांश पेशाहरूमा एआई पूरक (augment) को रूपमा प्रयोग हुने छन् ।

२) गोपनीयतामा खतरा 

एआईले हाम्रो प्राइभेसीमा पनि खतरा पुर्‍याउन सक्छ । फोर्ब्सको रिपोर्टले भन्छ - एआईले हामीबारे यति धेरै जानकारी सङ्कलन गर्न सक्छ । हामीलाई थाहा पनि नहुन सक्छ कुन-कति जानकारीसम्म एआई पुगिसक्यो।

अफिसदेखि सडकसम्म एआईले मानिसहरूलाई निगरानी गर्न सक्छ । यति छिटो फैलिँदै गरेपछि मान्छेको प्राइभेसी सुरक्षित नहुने बताइएको छ । 

मालवेयरबाइट्सको अध्ययनले एआई उपकरणहरू अनुमति बिना डेटा प्रयोग गर्न सक्ने चिन्ता देखाएको छ । त्यस्तै Transatlantic Privacy Perceptions रिपोर्टका अनुसार, यूरोपमा ५२ प्रतिशत र अमेरिकामा ५७ प्रतिशत मानिसहरू गोपनीयता सम्बन्धी चिन्ताले एआई उपकरणको प्रयोगमा ठूलो असर पार्ने बताउँछन् । 

३) वातावरणमा जोखिम 

एआई चलाउन ठूलो मात्रामा बिजुली चाहिन्छ। त्यसका लागि ठूला डेटा सेन्टरहरू निर्माण भइरहेका छन्। यी डेटा सेन्टरहरूले धेरै बिजुली प्रयोग गर्छन् र वायुमा हानिकारक ग्यास पनि निक्कै मात्रामा छोड्नसक्छन्।

जब संसारमा पहिलेबाटै पानी अभाव छ, त्यति बेला एआईले पानीको खपत पनि बढाउने सम्भावना छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, हालका दिनहरूमा डेटा सेन्टरहरूले विश्वको कुल बिजुली खपतको लगभग १.५ प्रतिशत हिस्सा प्रयोग गरिरहेका छन्, र यो संख्या एआईको बढ्दो प्रयोगसँगै २०३० सम्म करीब ३ प्रतिशत पुग्ने सम्भावना छ ।

विश्वव्यापी डेटा सेन्टरहरूको शक्ति माग २०३० सम्म १६० प्रतिशतले बढ्ने गोल्डम्यान स्याकले जनाएको छ । डेटा सेन्टरहरूले प्रयोग गर्ने कुल बिजुलीको हिस्सा १–२ प्रतिशतबाट बढेर ३–४ प्रतिशत हुने सम्भावना छ । 

हालको अवस्थामा एआई-सम्बन्धित कम्प्युटिंगले कुल वातावरणीय ऊर्जा खपतको १.५–४ प्रतिशतको सीमा छोइरहेको छ । भविष्यमा यो दर अझ बढ्ने सम्भावना छ। यसले वातावरणमा जोखिम ल्याउने छ । 

४) हतियारमा एआई प्रयोग खतरनाक हुन सक्ने

एआईको प्रयोग हतियार निर्माणमा पनि भइरहेको छ । यसले अत्याधुनिक हतियारहरू बनाउन सक्दछ र ती गलत हातमा परे भने ठूलो नोक्सान हुन सक्छ । भर्खरैको रूस-युक्रेन युद्धमा रोबोट डग र यस्ता यन्त्रहरू देखिएका थिए, जसले मानिसको अनुमति लिएर नै फायर सञ्चालन गरेका थिए । यदि यी हतियार पूर्ण रुपमा अटोमेटिक भए र आफैले काम गर्न थाल्यो भने खतरानाक हुनेछ ।

५) झूटा/नक्कली जानकारी

एआईको मद्दतले सजिलै फेक भिडियो र तस्बिर निर्माण गर्न सकिन्छ अर्थात् डीपफेक सामग्री बनाउने काम बढेको छ । यसले गलत जानकारी फैलिन सक्छ । एआईको आगमनपछि फेक जानकारी बढेको छ र यसले मानिसहरूलाई भ्रमित पारिरहेको छ।

६) सिर्जनात्मकता चोरी हुन सक्ने

यदि तपाईं लेखक, चित्रकार वा कुनै क्रिएटिभ काम गर्ने मानिस हुनुहुन्छ भने तपाईंको काम बिना अनुमति एआईका लागि प्रशिक्षित हुन सक्छ । त्यसबाट एआई कम्पनीहरूले आर्थिक लाभ लिईरहेका छन्, जबकि तपाईंलाई केही रकम दिइँदैन। यस विषयमा धेरै मानिसहरू असन्तुष्ट छन् र अदालतसम्म मुद्दा पुगेका छन्।

७) एआई मान्छेविरुद्ध हुनसक्ने

हलीउड चलचित्रहरूमा धेरै पटक त्यस्तो भविष्य देखाइएको हुन्छ, जहाँ मेसिनहरू सोच्न थाल्छन् र मान्छेहरूलाई संकटमा पार्छन् । यदि एआईलाई सोच्ने क्षमता दिइयो र त्यो आफैं विकसित हुन थाल्यो भने हाम्रो नियन्त्रणबाट बाहिर जान सक्छ। चलचित्रमा देखाइएको यस्तो दृश्य, भविष्यमा साचिच्कै पनि हुन सक्छ ।