लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यसै हप्ता दुई दिने एआई कार्यशाला तथा ह्याकाथन कार्यक्रम हुने भएको छ । 'थिङ्क, बिल्ड, एन्ड स्केल' भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम यही शुक्रबार र शनिबार विश्वविद्यालय परिसरमा हुनेछ।
शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । यस कार्यशाला तथा ह्याकाथन सिंगापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एआई कम्पनी म्यानस एआई र नेपालमा एआई प्रवर्द्धन गर्दै आएको प्लेटफर्म एनोभेटर्सको सहकार्यमा आयोजना गर्न लागिएको हो।
काठमाडौँबाट गएका अनुभवी प्रशिक्षकहरूले सहभागी विद्यार्थीहरूलाई एआईका विभिन्न प्रयोग र सम्भावनाबारे व्यावहारिक जानकारी दिनेछन् । हाल अधिकांश प्रयोगकर्ताहरूले एआई भन्ने बित्तिकै च्याटजीपीटी बुझ्ने र सामान्यतया लेखन वा रिसर्चका लागि मात्रै एआईको प्रयोग गर्ने गरेको पाइन्छ ।
यस कार्यशालामा सहभागीहरूले कोडिङ्ग अनुभव नभए पनि, प्रोग्रामिङ्ग बिना 'प्रम्प्ट' मार्फत सफ्टवेयर तथा एप बनाउने व्यावहारिक सीप प्राप्त गर्नेछन् । उक्त ह्याकाथनमा सहभागीहरूले एजेन्टिक एआईबारे सिकेर छोटो समयमै आफ्ना आइडियाहरूलाई एआईको मद्दतले एपमा परिणत गर्नेछन् ।
पहिले कहिल्यै कम्प्युटरमा कोड नलेखेका व्यक्तिहरूले पनि म्यानस एआईमार्फत एप निर्माण गर्ने, वेबसाईट बनाउने जस्ता काम गर्न सक्दछन् । म्यानस एआईले कार्यक्रम अवधिभर सम्पूर्ण सहभागीहरूलाई महँगो शुल्क तिरेर खरिद गर्नुपर्ने ‘प्रो एकाउन्ट’ निःशुल्क उपलब्ध गराउनेछ, जसले वेबसाइट तथा एप्स निर्माण कार्य थप सहज बनाउनेछ ।
विशेष गरी लुम्बिनी प्रदेशमा रहेका विविध समस्या पहिचान गरी, एआईको प्रयोगमार्फत उक्त समस्या समाधान गर्ने प्रकृतिका एप निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको विश्वविद्यालयले जनाएको छ ।
यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूलाई एआई युगका लागि तयार पार्न सहयोग पुग्ने विश्वविद्यालयको विश्वास छ । यदी तपाई पनि एआई कार्यशाला तथा ह्याकाथनकार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
कार्यक्रममा सहभागी हुनका लागि दर्ता शुल्क ५०० रूपैयाँ तोकिएको छ भने सिट पनि सिमित रहेको छ ।