कीवर्डहरू -

आईसीटी अवार्ड र हिमालय टिभीबीच प्रसारण साझेदारीका लागि सम्झौता

आईसीटी अवार्ड र हिमालय टिभीबीच प्रसारण साझेदारीका लागि सम्झौता

आईसीटी अवार्ड २०२५ का आयोजक र हिमालय टिभीबीच आधिकारिक प्रसारण साझेदारी गर्ने सम्झौता गरिएको छ। उक्त सम्झौता पत्र १६ अक्टूबर २०२५ मा हस्ताक्षर गरी औपचारिक रूपमा प्रक्रिया पूरा गरिएको हो। हिमालय टिभीको तर्फबाट कार्यकारी निर्देशक श्याम कण्डेलले र आईसीटी अवार्ड तर्फबाट आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

null

सम्झौताअनुसार हिमालय टिभीले आईसीटी अवार्ड २०२५ सम्बन्धी प्रचार–प्रसार तथा कार्यक्रम प्रसारणमा आधिकारिक भूमिका निभाउनेछ भने आईसीटी फाउन्डेसन तथा आयोजक संस्थाले हिमालय टिभीसँग समन्वय र आवश्यक सामग्री उपलब्ध गराउने सहमति भएको बताइएको छ। यस अन्तर्गत मंसिरको पहिलो हप्ताबाट कम्तीमा पाँच एपिसोड प्रसारण गरिनेछ, जसमा स्टार्टअप र नवप्रवर्तनका आइडिया तथा कथाहरू समावेश गरिने छन्। हरेक एपिसोडमा स्थानीय र युवा उद्यमीका विचार, इनोभेसन र स्टार्टअप इकोसिस्टमसँग सम्बन्धित कथा–वार्ता प्रस्तुत गरिनेछ।

ग्रैंड फिनालेको प्रसारण पनि हिमालय टिभीद्वारा गरिने योजना बनाइएको छ। हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कण्डेलले आईसीटी अवार्डसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यसले स्टार्टअप र उद्यमीहरूलाई प्रवर्द्धन गर्न र समग्र इकोसिस्टमको विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताएका छन्। उनले थपे कि शार्क ट्यांकसँगै आईसीटी अवार्डको साझेदारीले आईसीटी क्षेत्रको पहुँच र अवसरहरू अझ व्यापक बनाउनेछ।

दुवै पक्षले आउँदो प्रतिस्पर्धा तथा पुरस्कार समारोहलाई देशभरका दर्शकसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य राखेर सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्। आईसीटी अवार्डले हरेक वर्ष सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट व्यक्तित्व, कम्पनी र नवप्रवर्तनलाई सम्मान गर्ने गर्दछ र यसपटकको यस साझेदारीले कार्यक्रमको पहुँच र प्रचारप्रसार थप व्यापक हुनेछ भन्ने आशा गरिएको छ।