पछिल्लो केही वर्षमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले मानव जीवनका लगभग सबै क्षेत्रलाई प्रभाव पार्न थालेको छ। अमेरिका, चीन, युरोपियन युनियन र भारत जस्ता विकसित देशहरूले एआईमा खर्बौं लगानी गरिरहेका छन् ।
तर नेपाल जस्ता साना देशमा स्रोत र पूर्वाधार सीमित भए पनि ट्यालेन्ट र क्षमता कम छैन। एआईले सिर्जनात्मक कामदेखि लिएर उद्योग, शिक्षा र रोजगारीसम्म ठूलो प्रभाव पारिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै पुराना कामका प्रकारहरू बदल्न बाध्य पारिरहेको छ ।
यसै सन्दर्भमा, विगत २५ वर्षदेखि एआईको क्षेत्रमा अध्ययन, अनुसन्धान र काम गरिरहेका फ्युजमेसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. समीर मास्केसँग आइसिटी समाचारका लागि कमल केसीले गरेको कुराकानीको सम्पादित अंशः
विकसित देशहरूले एआईमा खर्बौँ डलर लगानी गरिरहेका छन् र विशेष गरी अमेरिका–चीनबीच तीव्र प्रतिस्पर्धा देखिन्छ। यस्तो विश्वव्यापी दौडको बीचमा नेपाल एआई विकासको सन्दर्भमा कहाँ उभिएको छ ?
ग्लोबल रूपमा हेर्दा नेपाल अमेरिका, चीन वा युरोपियन युनियनको जस्तो अवस्थामा छैन। एआईका लागि आवश्यक पूर्वाधार पनि पर्याप्त छैन। कतिपय अवस्थामा एउटा कम्पनीले एआईमा गरेको लगानी मात्रै नेपालको जीडीपीभन्दा पनि बढी हुन सक्छ।
तर एआईको एउटा सकारात्मक पक्ष भनेको यसले पहुँच र इन्नोभेसनलाई लोकतान्त्रिक बनाएको छ। फ्युजमेसिन्सको मिसन नै ‘डेमोक्रेटाइज एआई’ हो। एआई प्रयोग गरेर नयाँ आयामका प्रडक्ट र समाधानहरू बनाउन अहिले धेरै सजिलो भएको छ।
यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा ट्यालेन्ट हो। त्यो ट्यालेन्ट नेपालसँग छ। यो नेपालको ठूलो एसेट हो। एआई प्रयोग गर्ने, अनुसन्धान गर्ने र नयाँ सिस्टम विकास गर्ने क्षमता नेपाली युवाहरूमा अन्य देशभन्दा कम छैन।
तर स्रोत, पूर्वाधार र तालिमको अभाव छ। यदि यी कुराहरू उपलब्ध भए नेपालले पनि विश्वसँग प्रतिस्पर्धा गर्न सक्छ।
नेपालमा विश्वविद्यालयहरूले एआई पढाउन थाले पनि एकेडेमिया र उद्योगबीच अझै समन्वयको अभाव देखिन्छ। यो खाडल कम गर्न के गर्नुपर्ला ?
नेपालमा एआई रिसर्च अझै सीमित छ। कन्सेप्ट विकास, रिसर्च र फन्डिङ सबै क्षेत्रमा कमी देखिन्छ। विदेशका विश्वविद्यालयहरूमा रिसर्च गरेर त्यसको क्रेडिट ट्रान्सक्रिप्टमा लिन सकिन्छ, तर नेपालमा पर्याप्त ल्याब र स्रोत उपलब्ध छैनन्।
रिसर्चका लागि स्रोत, लगानी र पाठ्यक्रममा एकीकृत व्यवस्था आवश्यक छ।
अर्को महत्वपूर्ण समस्या सैद्धान्तिक र प्रयोगात्मक ज्ञानबीचको अन्तर हो। किताबमा एआई पढ्नु र वास्तविक संसारमा एआई सिस्टम बनाउनु फरक कुरा हो। यो अन्तर कम गर्न सकियो भने एआई उद्यमशीलता र प्रविधि विकास दुवै बढ्छ।
त्यसका साथै एआई गभर्नेन्स, नीति, फन्डिङ र प्याटेन्ट कानून जस्ता क्षेत्रमा पनि काम गर्नुपर्ने देखिन्छ। यी पक्षहरू बलियो भए नेपालले ग्लोबल रूपमा पनि प्रतिस्पर्धा गर्न सक्छ।
एआईका कारण धेरै काम अटोमेट हुने चर्चा भइरहेको छ। यस्तो अवस्थामा रोजगारीमा कस्तो प्रभाव पर्ला ?
एआईले रोजगारीमा असर पार्छ भन्नेमा दुई धारणा छन्। कसैले यसले रोजगारी घटाउँछ भन्छन् भने कसैले नयाँ रोजगारी सिर्जना हुन्छ भन्छन्।
इतिहास हेर्दा औद्योगिक क्रान्तिका बेला पनि पुराना रोजगारी गएका थिए तर नयाँ रोजगारी सिर्जना भएका थिए। म पनि त्यही धारणा मान्छु।

अहिले प्रम्प्ट इन्जिनियरिङ, एआई एजेन्ट सञ्चालन, डेटा एनोटेशन जस्ता नयाँ रोजगारीहरू देखा परिरहेका छन्। तर पूर्ण अटोमेसन हुँदा केही क्षेत्रमा मानिसको आवश्यकता कम हुन सक्छ।
त्यसैले अटोमेसन हुने काममा रहेका व्यक्तिहरूले सीप अभिवृद्धि (अपस्किलिङ) मा जोड दिनुपर्छ। यद्यपि यो परिवर्तन तुरुन्तै हुने होइन, केही समय लाग्छ।
अहिले जेनेरेटिभ एआई तीव्र रूपमा विकास भइरहेको छ। भविष्यमा एजीआई (AGI) जस्ता उन्नत एआई प्रणाली विकसित भए त्यसले समाज र रोजगारीमा कस्तो प्रभाव पार्ला?
आर्टिफियल जनरल इन्टेलिजेन्स (एजीआई) आउन अझै समय लाग्ने देखिन्छ। यस्तो सिस्टमले मानिसले गर्न सक्ने धेरै काम गर्न सक्छ, सम्भवतः अझ राम्रो पनि।
तर अहिले हामी विशेष कामका लागि बनाइएका एआई सिस्टमहरू विकास भइरहेको चरणमा छौँ। उदाहरणका लागि हामीले असिस्टिभ एआई इन्टरभ्युअर जस्ता समाधानहरू विकास गरेका छौँ।
यसले कर्मचारी भर्ना प्रक्रियालाई सहज बनाएको छ। अन्तर्वार्ताका क्रममा एआई एजेन्ट भिडियो कलमा सहभागी हुन्छ, कुन प्रश्न सोध्ने भनेर सुझाव दिन्छ र उम्मेदवारका उत्तरहरूको विश्लेषण गरेर थप सुझाव पनि दिन्छ।
भविष्यमा पूरा इन्टरभ्यू नै एआईले लिने सिस्टम पनि आउन सक्छ। तर यस्तो सिस्टम विकास गर्दा यसको नैतिक पक्षबारे पनि सोच्न आवश्यक हुन्छ।
एआईको प्रभाव पर्ने रोजगारीमा लागेकाहरूले आफ्नो सीप कसरी अभिवृद्धि गर्न सक्छन् ?
यदि कुनै काम दोहोरिने प्रकृतिको छ र एआईले त्यसलाई अटोमेट गर्न सक्छ भन्ने सम्भावना छ भने सुरुमा त्यही कामका लागि एआई टुल कसरी प्रयोग गर्ने भनेर सिक्नुपर्छ।
यदि मानिसले एआई टुल प्रयोग गरेर आफ्नो काम अझ प्रभावकारी बनाउन सक्यो भने रोजगारी गुम्ने सम्भावना कम हुन्छ।

एआईलाई पनि मानिसले नै दिशा दिनुपर्छ। त्यसैले एआईलाई प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सकियो भने धेरै अवसरहरू सिर्जना हुन्छन्।
एआई प्रशिक्षणका लागि ठूलो डेटा प्रयोग हुँदा गोपनीयता र कपीराइटका प्रश्न पनि उठिरहेका छन्। यसलाई कसरी हेर्नुहुन्छ?
विशेषगरी फाउन्डेसन मोडेलहरू विकास गर्दा गोपनीयता र कपीराइटका प्रश्न धेरै उठेका छन्। किनभने इन्टरनेटमा उपलब्ध सामग्री प्रयोग गरेर ती मोडेलहरूलाई प्रशिक्षण दिइएको छ।
अहिले यससम्बन्धी केही मुद्दा अदालतमा पुगेका छन्। अदालतका निर्णयहरूबाट विस्तारै समाधान आउने अपेक्षा छ।
सामान्यतया जसले कन्टेन्ट सिर्जना गरेको हो, त्यसको कपीराइट उसैको हुन्छ। त्यसलाई प्रयोग गर्न लाइसेन्स वा अनुमति लिनुपर्छ।
नेपालजस्ता साना देशका लागि एआई अवसर हो कि जोखिम ?
नेपालजस्ता साना देशका लागि एआई ठूलो अवसर हो।
एआईले पहुँच, शिक्षा र अवसरलाई लोकतान्त्रिक बनाउँछ। पहिले नयाँ प्रविधि विकास गर्न धेरै स्रोत चाहिन्थ्यो, तर एआईका कारण त्यो प्रक्रिया अहिले धेरै सजिलो भएको छ।
यसलाई सही रूपमा प्रयोग गर्न सकियो भने नेपालले पनि नयाँ स्टार्टअप र टेक्नोलोजी समाधानहरू विकास गर्न सक्छ।
एआईको विस्तारसँगै विश्वभर डेटा सेन्टरको महत्व बढ्दै गएको छ। नेपालमा उपलब्ध जलविद्युत र चिसो वातावरणलाई डेटा सेन्टरका लागि सम्भावित अवसरका रूपमा पनि हेर्ने गरिएको छ । तपाईंको दृष्टिमा नेपालमा डेटा सेन्टर विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?
डेटा सेन्टरका लागि नेपालमा सम्भावना छ र त्यसका लागि प्रयास पनि गर्नुपर्छ।
एआई सिस्टम चलाउनका लागि जीपीयूमा आधारित डेटा सेन्टर चाहिन्छ, जसले धेरै उर्जा खपत गर्छ र धेरै गर्मी उत्पादन गर्छ। त्यसैले गर्दा डेटा सेन्टरको आधा खर्च कुलिङमा जान्छ ।
नेपालमा हिमाली क्षेत्रको चिसो वातावरण छ, जसले प्राकृतिक कुलिङमा मद्दत गर्छ। साथै जलविद्युतबाट प्राप्त हरित ऊर्जा पनि उपलब्ध छ। त्यसैले उचित नीति बनाएर अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्न सकिन्छ।
एआईको प्रयोग बढ्दै जाँदा डेटा सेन्टर र कम्प्युटिङ पूर्वाधारको विस्तार पनि तीव्र रूपमा भइरहेको छ। यसले उर्जा खपत र कार्बन उत्सर्जनसम्बन्धी चिन्ताहरू पनि बढाएको छ। एआईले वातावरणमा कत्तिको असर गर्छ?
एआई प्रणालीले धेरै उर्जा खपत गर्ने भएकाले वातावरणमा असर पर्ने सम्भावना हुन्छ। तर कुन प्रकारको उर्जा प्रयोग गरिन्छ भन्ने कुरामा पनि यो निर्भर हुन्छ।
यदि हरित उर्जा प्रयोग गरियो भने वातावरणमा असर कम हुन्छ, यद्यपि केही प्रभाव भने रहन्छ।
एआई विकास गर्ने आईटी क्षेत्रमै अहिले रोजगारीको भविष्यबारे बहस सुरु भएको देखिन्छ। जसले एआई बनायो, उसैको जागिर जोखिममा पर्ने अवस्था देखिएको छ। आगामी दिनमा यसको असर कस्तो पर्ने देख्नुहुन्छ?
केही वर्षसम्म प्रविधिलाई सुरक्षित करियर मानिन्थ्यो। तर अहिले एआई सिस्टमले नै कोड लेख्न सक्ने भएकाले विशेषगरी जुनियर इन्जिनियरहरूको रोजगारीमा प्रभाव देखिन थालेको छ।
दीर्घकालीन रूपमा जुनियर इन्जिनियरहरूको भर्ती कम हुन सक्छ। तर अनुभवी र जटिल समस्या समाधान गर्न सक्ने इन्जिनियरहरूको आवश्यकता भने रहिरहन्छ।
तपाईँले २०–२५ वर्षदेखि मेसिनलाई सिकाउँदै आउनु भएको छ। मेसिनलाई सिकाउन गाह्रो कि मानिसलाई?
केही वर्षअघि सम्म मेसिनलाई सिकाउन धेरै गाह्रो थियो। वर्षौँसम्म मेसिनलाई सिकाउने विषयमै रिसर्च भयो।
अहिले भने मेसिनलाई बुझाउन अपेक्षाकृत सजिलो हुँदै गएको छ।
तर मानिस आफैँ जटिल प्राणी हो। मानिससँग आफ्नै सोच, निर्णय क्षमता र सृजनात्मकता हुन्छ। मेसिनले निर्देशन अनुसार काम गर्छ, तर मानिसले त्यसलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न सक्छ।
हाल एआई प्रणाली तीव्र रूपमा विकसित हुँदै छन्, तर नीति, नियम विकासको गति त्यत्तिकै तीव्र छैन। यस अवस्थामा एआईसम्बन्धी नीति कत्तिको आवश्यक छ?
एआई विकासको गति निकै तीव्र छ, तर त्यसअनुसार नीति निर्माण भएको छैन। सामान्यतया पहिले इन्नोभेसन आउँछ र त्यसपछि नीति बनाइन्छ।
अब भने एआईको विकासको गतिसँगै नीति निर्माण पनि छिटो हुन आवश्यक छ। यसले धेरै हदसम्म एआईले पार्ने नकारात्मक प्रभावलाई कम गर्न सक्छ ।

आजको दिनमा एआई र रोबोटिक्स केवल मानव सहयोगमा सीमित छैनन् । कतिपय प्रणालीहरूले आफैं नयाँ रोबोट वा एआई टुल विकास गर्न थालेका छन्। आउने दिनमा भविष्य कस्तो देखिन्छ?
अहिले रोबोटले रोबोट बनाउन थालेको अवस्था पनि देखिन थालेको छ। यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ भनेर निश्चित रूपमा भन्न सजिलो छैन।
यदि यो पूर्ण रूपमा मानव नियन्त्रणभन्दा बाहिर गयो भने जोखिम पनि आउन सक्छ। त्यसैले एआई विकाससँगै नैतिकता र जिम्मेवारीको प्रश्न पनि महत्वपूर्ण बन्दै गएको छ। यसमा नीतिको विशेष महत्त्व हुन्छ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
एआईले धेरै अवसर सिर्जना गरेको छ र कार्यक्षमता पनि बढाएको छ।
अब सबैले अपस्किलिङ अर्थात् नयाँ सीप सिक्ने बारे सोच्न सुरु गर्नुपर्छ। भविष्यमा प्रविधिसँग काम गर्न सक्ने मानिसहरूको माग अझ बढ्नेछ।
यो पनि पढ्नुहोस
कमल केसी

