कीवर्डहरू -

एआई ल्यापटपको बढ्दो माग: के पुरानो ल्यापटप अब कामको रहदैँन?

एआई ल्यापटपको बढ्दो माग: के पुरानो ल्यापटप अब कामको रहदैँन?

पछिल्लो एक वर्षमा एआई प्रविधि टेक संसारको सबैभन्दा ठूलो सेलिङ्ग पोइन्ट बनेको छ। अब केवल स्मार्टफोन मात्र होइन; टिभी, फ्रिज, एसी र यहाँसम्म कि वाटर प्युरीफायर पनि एआई ट्यागसहित बजारमा बेचिन थालेका छन्। यस्तो अवस्थामा कम्पनीहरूले एआई ल्यापटपलाई भविष्यको आवश्यकताका रूपमा प्रस्तुत गरिरहेका छन्। यही कारण विश्वभर एआईको बढ्दो मागसँगै मेमोरी, स्टोरेज र सीपीयू जस्ता महत्वपूर्ण कम्पोनेन्टहरू महँगिँदै गएका छन्। विश्लेषणअनुसार २०२६ मा ल्यापटपको मूल्य ३५ प्रतिशतदेखि ४० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैले प्रश्न उठ्छ, के एआई ल्यापटप वास्तवमै हाम्रो आवश्यकता हो?

साधारण ल्यापटप र एआई ल्यापटपबीचको अन्तर

साधारण ल्यापटपमा प्रायः दुईवटा चिप हुन्छन्— सीपीयू र जीपीयू। तर एआई ल्यापटपमा तेस्रो विशेष प्रोसेसर चिप थपिएको हुन्छ, जसलाई एनपियू भनिन्छ। यो चिप विशेष रूपमा एआईसँग सम्बन्धित कामका लागि डिजाइन गरिएको हुन्छ।

एनपियूले इमेज पहिचान, भाषा बुझ्ने र टेक्स्ट प्रोसेसिङ जस्ता कार्यहरू सिधै ल्यापटपमै गर्न सक्छ। यसले धेरै एआई कार्यहरू इन्टरनेटमा निर्भर नभई डिभाइसमा नै सञ्चालन गर्न सम्भव बनाउँछ।

एआई ल्यापटपका अतिरिक्त सुविधाहरू

लाइभ ट्रान्सलेसन–सबटाइटल:
भिडियो कलका क्रममा बोलेको भाषालाई तुरुन्तै टेक्स्टमा रूपान्तरण गर्न सक्छ। उदाहरणका लागि, कुनै व्यक्तिले जर्मन भाषा बोलेमा प्रयोगकर्ताले त्यसलाई अङ्ग्रेजीमा बुझ्न सक्छ।

लोकल एआई असिस्टेन्ट:
फाइल खोज्ने, टेक्स्ट लेख्ने तथा फोटो र भिडियो सम्पादन जस्ता कामहरू इन्टरनेट बिना पनि छिटो गर्न सकिन्छ।

स्मार्ट भिडियो कलिङ:

यसले स्वतः ब्याकग्राउन्ड ब्लर गर्छ, अनुहारमा फोकस राख्छ र मिटिङलाई अझ पेशेवर देखाउन न्वाइज क्यान्सलेसन प्रयोग गर्छ।

 ब्याट्री र स्मूद परफर्मेन्स:

एनपियूले एआई सम्बन्धी प्रोसेसिङ सम्हाल्दा सीपीयू र जीपीयूमा पर्ने दबाब कम हुन्छ। यसले ब्याट्री लाइफ र सिस्टमको स्पीड दुवै सुधार गर्छ।

ल्यापटप किन्ने बेला ध्यान दिनुपर्ने कुरा

जसको डिजिटल गतिविधि इन्टरनेट चलाउने, अनलाइन कक्षा लिने, सामान्य फोटो वा भिडियो सम्पादन गर्ने, इमेल लेख्ने, अफिसका कागजात व्यवस्थापन गर्ने वा फिल्म हेर्ने जस्ता काममा सीमित छ, उनीहरूका लागि साधारण ल्यापटप नै पर्याप्त हुन्छ।

त्यस्ता प्रयोगकर्ताले ल्यापटप किन्दा निम्न आधारभूत हार्डवेयरमा ध्यान दिनु उचित हुन्छः

  • कम्तीमा ८ देखि १६ जीबी र्याम

  • कम्तीमा ५१२ जीबी स्टोरेज

  • ६ देखि ८ घण्टासम्म टिक्ने ब्याट्री

यदि काममा कोडिङ, थ्रीडी डिजाइन, प्रोफेशनल भिडियो सम्पादन वा डेटा साइन्स समावेश छ भने एआई ल्यापटप उपयोगी हुन सक्छ। यी ल्यापटपलाई प्रायः एआई पीसी वा कपाइलट प्लस पीसी पनि भनिन्छ र कठिन तथा उच्च क्षमता आवश्यक पर्ने कामका लागि डिजाइन गरिएका हुन्छन्।

यस प्रकारका ल्यापटप खरिद गर्दा निम्न स्पेसिफिकेसनमा ध्यान दिनु उचित हुन्छः

  • लोकल एआई प्रोसेसिङका लागि एनपियू

  • १६ देखि ३२ जीबी र्याम

  • कम्तीमा १ टेराबाइट स्टोरेज

यसले जेनरेटिभ एआई टुलहरू तथा जटिल एडिटिङ सफ्टवेयरलाई सिस्टम ढिलो नबनाई डिभाइसमा नै चल्न मद्दत गर्छ।

एआई ल्यापटपहरू सामान्यतया समान स्पेसिफिकेसन भएका साधारण ल्यापटपको तुलनामा करिब १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म महँगा हुन्छन्। उदाहरणका लागि, Lenovo को एआई ल्यापटप श्रृंखला औरा एडिशनको प्रारम्भिक मूल्य करिब ९४ हजार रुपैयाँ छ, जबकि आई७ प्रोसेसर भएका लेनोभोका साधारण ल्यापटपको मूल्य करिब ७१ हजार रुपैयाँबाट सुरु हुन्छ।

साधारण दैनिक प्रयोगका लागि सामान्य ल्यापटप नै पर्याप्त हुन्छ। तर उच्च स्तरका क्रिएटिभ काम, प्रोग्रामिङ वा एआई टुलहरूको प्रयोग बढी हुने प्रयोगकर्ताका लागि एआई ल्यापटप उपयोगी हुन सक्छ। यद्यपि, यस्तो ल्यापटप किन्नु अघि यसको उच्च मूल्य र आवश्यक स्पेसिफिकेसनलाई ध्यानपूर्वक मूल्याङ्कन गर्नु आवश्यक हुन्छ।