गएको शनिबार काठमाडौंमा एआई सुरक्षा भेला (AI Safety Meet-Up) सम्पन्न भएको छ । एनोभेटर्स र बेलायतस्थित गैर-नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्ट’को संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा एआईलाई नैतिक र जिम्मेवार बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रविधि लिडर, नीति निर्माता, विद्यार्थी र आविष्कारक गरी ६० बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले सूचनामूलक प्रस्तुतिहरू दिँदै जिम्मेवार र नैतिक रूपमा एआईको विकास गर्न किन महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व सचिव मधु कुमार मरासिनीले 'एआई गभर्नेन्स: एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू' विषयमा किनोट स्पिच दिएका थिए । उनले पछिल्लो समयमा भएको प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे चर्चा गरेका थिए ।
नेपाल एआई गभर्नेन्समा पछाडि पर्न नहुने भन्दै मरासिनीले सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यसपछि, नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीहरूलाई नेपालको कम्प्युटर प्रविधि इतिहासको विषयमा जानकारी दिएका थिए ।
उनले वि.सं. २०२८ को जनगणनाको नतिजा प्रशोधन गर्न नेपाल भित्र्याइएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटरसँग गरेको काम, राष्ट्रिय कम्प्युटर केन्द्रमा उनको भूमिका, र पछि प्रमुख निर्वाचन आयुक्तको रूपमा नेपालको निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन गरेको प्रयत्नको बारेमा आफ्नो अनुभव शेयर गरेका थिए ।
त्यसैगरी, ‘सिंगापुर एआई सुरक्षा हब’को प्रतिनिधित्व गर्दै भर्चुअल माध्यमबाटै सहभागी भएकी भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एसियामा अपनाइएका उत्कृष्ट अभ्यासहरूका बारेमा जानकारी दिएकी थिइन । उनले एआई सुरक्षा र जिम्मेवार एआई विकासलाई बढावा दिन सिंगापुरमा भइरहेका सहयोगात्मक प्रयासहरूका बारेमा बताएकी थिइन ।
यसैगरी, अतिथि वक्ताहरू प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीहरूलाई एआई युगका लागि तयारी रहनका लागि, एआईमा हुने विभेद र असमानताको सामना, जिम्मेवार एआई, र दैनिक काममा एआईको नैतिक एवम् जिम्मेवारपूर्ण प्रयोगबारे उपयोगी सीपहरू सिकाएका थिए ।
कार्यक्रममा प्रतिक दाहालले हालका लार्ज ल्याङ्गविज मोडल (एलएलएम) हरूसँग सम्बन्धित जोखिमहरूबारे जानकारी दिएका थिए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन एआई सम्बन्धित एउटा अन्तरक्रियात्मक हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।
प्रतियोगिताका दुई विजेतालाई २०० अमेरिकी डलर बराबरको ‘पर्प्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’ (Perplexity Pro Enterprise Edition) को ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरिएको थियो ।
यस कार्यक्रमले नेपालमा अझ सुरक्षित र जिम्मेवार एआई भविष्य निर्माणका लागि आवश्यक निरन्तर संवाद र सहकार्यको लागि नयाँ ढोका खोलेको आयोजकको विश्वास छ ।