अमेजनको काइपर प्रोजेक्ट अन्तर्गत पहिलो २७ वटा स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण भएका छन् । स्टारलिंकको जस्तै स्याटेलाइटबाट इन्टरनेट दिने उद्देश्यसहित पहिलो चरणमा अमेजनले २७ स्याटेलाटइ सार्वजनिक गरेको हो ।
यी स्याटेलाइटहरू अमेजनको प्रोजेक्ट काइपर अन्तर्गत प्रक्षेपण गरिन लागेको कुल ३ हजार २३६ स्याटेलाइटहरूमध्ये पहिलो हुन् । यो परियोजना सन् २०१९ मा सार्वजनिक गरिएको थियो ।
१० अर्ब डलर लागत लाग्ने अनुमान गरिएको यसको उद्देश्य संसारभरि उपभोक्ता, व्यवसाय र सरकारहरूलाई ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनु हो । यसअघि अप्रिल ९ मा प्रक्षेपणको पहिलो प्रक्षेपण प्रयास गरेको थियो तर खराब मौसमका कारण प्रक्षेपण प्रभावित भएको थियो ।
रोयटर्सका अनुसार काइपर अमेजनको अहिलेसम्मकै सबैभन्दा ठूलो सट्टाबाजी हो, जसले स्टारलिंकसँगै विश्वका ठूला टेलिकम सेवा प्रदायकहरू प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ । अमेजनले यस सेवालाई विशेषगरी ग्रामीण क्षेत्रहरू, जहाँ इन्टरनेट पहुँच निकै सीमित वा छैन नै, त्यस्ता ठाउँमा उपयोगी हुने बताएको छ ।
कम्पनीले सुरुवातमा सन् २०२४ को सुरुमा नै पहिलो चरणको प्रक्षेपण गर्ने लक्ष्य राखेको थियो । संयुक्त राज्यको संघीय सञ्चार आयोग (एफसीसी) ले अमेजनलाई सन् २०२६ को मध्यसम्ममा आफ्नो तारामण्डलको आधा हिस्सा अर्थात् १ हजार ६१८ स्याटेलाइटहरू प्रक्षेपण गर्नुपर्ने समयसीमा दिएको छ । तर सुरुवाती ढिलाइका कारण कम्पनीले त्यो म्याद पूरा गर्न विस्तारको अनुरोध गर्नुपर्ने हुनसक्छ भन्ने विश्लेषकहरूको भनाइ छ ।
यदि सबै योजना अनुसार अगाडि बढ्यो भने, कम्पनीले यसै वर्षको अन्त्यदेखि ग्राहकहरूलाई सेवा दिन सुरु गर्ने बताएको छ । यसै वर्षभित्र पाँच वटा काइपर मिशनहरू प्रक्षेपण हुन सक्ने बताइएको छ ।
अमेजनले सन् २०२० मा एफसीसीमा दर्ता गरेको फाइलिङ अनुसार, ५७८ वटा स्याटेलाइटहरूसँग कम्पनीले उत्तरी र दक्षिणी क्षेत्रहरूमा सेवा सुरु गर्न सक्ने छ र थप स्याटेलाइट प्रक्षेपणसँगै पृथ्वीको भूमध्य रेखातर्फ सेवा विस्तार गरिने छ ।