कीवर्डहरू -

परप्लेक्सिटी एआईलाई खरिद गर्न आन्तरिक छलफलमा एप्पल

परप्लेक्सिटी एआईलाई खरिद गर्न आन्तरिक छलफलमा एप्पल

एप्पलले परप्लेक्सिटी एआईलाई खरिद गर्ने बारे आन्तरिक छलफल थालेको छ । भविष्यमा एआई-आधारित सर्च इन्जिन विकास गर्न सक्ने सम्भावनासहित परप्लेक्सिटी एआईलाई अधिग्रहण गर्नेबारे आन्तरिक छलफल थालेको हो । 

ब्लूमबर्गको रिपोर्टअनुसार, एप्पलको मर्जर तथा अधिग्रहण विभागका प्रमुख एड्रियन पेरिकाले कम्पनीका सेवासम्बन्धी वरिष्ठ उपाध्यक्ष एड्डी क्यू र एआई विभागका शीर्ष अधिकारीहरूसँग यो प्रस्तावबारे कुराकानी गरिसकेका छन् ।

यद्यपि हालसम्म एप्पल र परप्लेक्सिटीबीच कुनै औपचारिक प्रस्ताव गरिएको छैन र छलफल सुरुवाती चरणमै रहेको बताइएको छ । एप्पलले पूर्णरूपमा कम्पनी किन्ने वा केवल साझेदारी गर्ने भन्ने विकल्पहरू पनि छलफलमा रहेका छन् । दुबै अवस्थामा, परप्लेक्सिटीको प्रविधि प्रयोग गरेर नयाँ एआई-संचालित सर्च इन्जिन विकास गर्ने र सो प्रविधिलाई सिरीमा एकीकृत गर्ने उद्देश्य राखिएको छ ।

गत मे महिनामा गुगलमाथि चलिरहेको सर्च एन्टिट्रस्ट मुद्दाका सन्दर्भमा एप्पलका वरिष्ठ उपाध्यक्ष क्यूले अदालतमा उभिँदा, एप्पल र पर्प्लेक्सिटीबीच सफारीमा एकीकरण गर्न सकिने सम्भावनाबारे कुराकानी भएको खुलासा गरेका थिए । तर, उनले अधिग्रहणबारे भने कुनै ठोस योजना साझा गरेका थिएनन् ।

यदि नियामक निकायहरूले एप्पल र गूगलबीचको सर्च साझेदारी अन्त्य गर्न आदेश दिएमा, पर्प्लेक्सिटी जस्तो कम्पनी अधिग्रहण गर्नु एप्पलका लागि वैकल्पिक सर्च सेवा विकास गर्न उपयोगी हुन सक्ने छ । 

एप्पलले अहिले एआई क्षमतामा सुधार ल्याउनको लागि नयाँ प्रतिभाको खोजी गरिरहेको छ । रिपोर्टअनुसार, एप्पलले मेटासँग प्रतिस्पर्धा गर्दै सेफ सुपरइन्टेलिजेन्सका संस्थापकलाई कम्पनीमा ल्याउन प्रयास गरिरहेको छ ।

केही महिना अघि एप्पलले आफ्ना प्रयोगकर्ताका लागि ल्याउन चाहेको ‘एप्पल इन्टेलिजेन्स’ नामक एआई सुविधाको मुख्य अंश — सिरीको शक्तिशाली संस्करण — समयमै तयार नहुँदा स्थगित गरेको थियो । त्यसैले कम्पनीलाई एआई क्षेत्रमा अघि बढ्न थप दक्ष जनशक्ति र प्रविधिको खाँचो देखिएको छ ।