कीवर्डहरू -

एप्पलको स्मार्ट होम डिस्प्ले सार्वजनिक हुन ढिला हुने

एप्पलको स्मार्ट होम डिस्प्ले सार्वजनिक हुन ढिला हुने

एप्पलले विकास गरिरहेको नयाँ स्मार्ट होम डिस्प्ले उपकरणको सार्वजनिक घोषणा पुनः ढिलाइ हुने संकेत देखिएको छ। मार्क गुर्मानले ब्लुमबर्गमा प्रकाशित रिपोर्टमा जनाएअनुसार कम्पनीले उक्त उपकरण सन् २०२६ को सेप्टेम्बरसम्म सार्ने तयारी गरिरहेको छ।

रिपोर्टअनुसार हार्डवेयर निर्माण भने केही महिनाअघि नै सम्पन्न भइसकेको छ। तर कम्पनीको एआई रणनीतिसँग सम्बन्धित समस्याका कारण उपकरणको सार्वजनिक घोषणा ढिलाइ भएको बताइएको छ। विशेषगरी एप्पलले विकास गरिरहेको एआई–केन्द्रित नयाँ संस्करणको सिरि अझै पूर्ण रूपमा तयार नभएकाले लन्च स्थगित भएको हो।

एप्पलभित्र “J490” नाम दिइएको उक्त उपकरण लामो समयदेखि चर्चामा रहेको परियोजना हो। सन् २०२२ मै स्क्रिनसहितको होमपोड जस्तै स्मार्ट स्पिकर ल्याउने तयारीबारे चर्चा सुरु भएको थियो। त्यसयता विभिन्न समयमा यो उपकरण छिट्टै सार्वजनिक हुने अनुमान गरिए पनि आधिकारिक घोषणा भने हुन सकेको छैन।

पछिल्ला दाबीअनुसार एप्पलले यसलाई यही वसन्तमा सार्वजनिक गर्ने योजना बनाएको थियो। तर कम्पनीको एआई विकास अपेक्षाभन्दा ढिलो भइरहेकोले योजना फेरि पछाडि धकेलिएको बताइएको छ।

एप्पलले आफ्नो एप्पल इन्टेलिजेन्स कार्यक्रम अन्तर्गत एक वर्षभन्दा बढी समयदेखि सिरीमा उन्नत एआई क्षमताहरू थप्ने काम गरिरहेको छ। गुरमनका अनुसार कम्पनीले नयाँ एआई–सक्षम सिरीलाई आईफोन १८ प्रो को सार्वजनिक कार्यक्रमसँगै प्रस्तुत गर्ने लक्ष्य राखेको छ, जुन सन् २०२६ को सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ।

यसअघि कम्पनीले आगामी गर्मीयाममा हुने डब्लुडब्लुडिसीमा च्याटबोट शैलीमा काम गर्ने नयाँ सिरीको झलक देखाउन सक्ने सम्भावना पनि रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूले तीव्र गतिमा प्रगति गरिरहेका बेला एप्पल भने आफ्ना एआई फिचरहरूलाई पूर्ण रूपमा तयार पार्न समय लिइरहेको देखिन्छ।