के तपाईंलाई पनि यस्तै अनुभव भएको छ, जुन विषयमा आफ्ना साथीहरुसँग कुरा गर्दै हुनुहुन्छ, त्यससँग मिल्दोजुल्दो उत्पादनहरू तपाईंको सोसल मिडिया फिडमा देखिन थाल्छन्? केही लोकप्रिय एपहरूले प्रयोगकर्ताको जीवनमा निरन्तर ट्रयाक गरिरहेको एप्टेको नामक रिसर्च फर्मले दाबी गरेको छ ।
यी एपहरुले तपाईंको बारेमा फरक–फरक प्रोफाइलहरू तयार पार्छन् र तपाईंको मनपर्ने–मन नपर्ने, पोलिटिकल ओपिनियन जस्ता डेटा अर्गनाइज गर्छन्। रिसर्चमा जुन एपहरूमा यो आरोप लागेको छ, तिनमा मेटाका फेसबुक, इन्स्टाग्राम र थ्रेड्ससमेत समावेश छन्।
रिसर्च फर्म एप्टेकोको रिपोर्टअनुसार जासूसी गर्ने एपहरूको लिस्टमा मेटाका फेसबुक, इन्स्टाग्राम र थ्रेड्सका साथै लिंकेडइन, पिन्टरेस्ट, अमेजन, एलेक्सा, युट्युब, एक्स र पेपलको नाम छ। रिपोर्टअनुसार यी एपहरूले प्रयोगकर्ताका फरक–फरक डेटा स्टोर गर्छन्। यसमा तपाईंले कुन कुरामा क्लिक वा ट्याप गर्नुभयो लगायत थुप्रै डेटा समावेश हुन्छ।
तपाईंको लोकेशन, कन्ट्याक्ट्स, ब्राउजिङ हिस्ट्री, डिभाइस इन्फर्मेशन, फाइनान्सियल डिटेल्जस्ता विवरण पनि हुन्छन्। यस डेटा प्रयोग गरी तपाईंको डिजिटल प्रोफाइल तयार गरिन्छ, जसले तपाईंका बानी–रुचि र सोचबिचारको राम्रो अनुमान दिन्छ।
तपाईंलाई के नोक्सान?
धेरैले विश्वास गर्छन् कि यसरी सङ्कलित डेटा यी एपहरूले राम्रो सर्भिस दिनको लागि संकलन गर्छन्। यद्यपि यो तपाईंलाई सेवा दिनुभन्दा बढी तपाईंलाई कन्ट्रोल गर्न प्रयोग गरिन्छ। यस्तै क्याम्ब्रिज एनालिटिका स्क्यान्डलमा भएको थियो ।
जब सोसल मिडियामार्फत धेरै अमेरिकी प्रयोगकर्ताको डेटा एक्सेस गरिएको थियो र तिनको भावना, पोलिटिकल प्राथमिकता र ओपिनियनबारे जानकारी लिने प्रयास भएको थियो। विभिन्न रिपोर्टहरूले दावी गर्छन् कि यो डेटा सन् २०१६ को अमेरिकी चुनावमा प्रयोग गरिएको थियो।
कसरी बच्ने?
एप इन्स्टल गर्दा परमिशनहरू ध्यानपूर्वक दिनुहोस्। जब कुनै एप तपाईंको फोनमा इन्स्टल हुन्छ, तपाईंबाट फोनका सेन्सरहरूको प्रयोग गर्ने परमिशन मागिन्छ। यदि तपाईले ध्यान नदिई सबै सेन्सरलाई एक्सेस दिनुभयो भने, तपाईंको डेटा दुरुपयोग हुनसक्छ।
त्यसैले एपका परमिशनहरू रिभ्यू गरेर सीमित एक्सेस दिनुहोस। साथै, फोनको सेटिङ्समा गएर क्यामरा र माईक्रोफोन अफ गर्न पनि सक्नुहुन्छ, यसरी गर्दा एपहरूले ती सेन्सर प्रयोग गर्न पाउँदैनन् ।