कीवर्डहरू -

डब्लूआइआइटीद्वारा एजुकेट हर : शी क्यान लिड विषयमा कन्फेरेन्स सम्पन्न

डब्लूआइआइटीद्वारा एजुकेट हर : शी क्यान लिड विषयमा कन्फेरेन्स सम्पन्न

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा कन्फेरेन्स आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले कन्फेरेन्स आयोजना गरेको हो ।

यस कन्फेरेन्समा विशिष्ट अतिथिको रुपमा मध्यपुर ठिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ रहेका थिए । यसैगरी क्यान फेडेरेसनका संस्थापक अध्यक्ष डा विमल कुमार शर्माले पनि आतिथ्य ग्रहण गरेका थिए । 

अप्रिल २६ अर्थात वैशाख १४ मा डब्लूआइआइटीले एजुकेट हर शी क्यान लिड विषयमा कन्फेरेन्स सञ्चालन गरेको हो । संस्थाले गर्ल्स इन आइसिटी डे कार्यक्रमको अवसरमा 'एजुकेट हर शी क्यान लिड' नामक पुस्तक पनि विमोचन गरेको थियो जुन डब्लुआइआईटी म्यागजिनको चौथो संस्करण हो ।

null

यो पुस्तक आईसिटीमा लागेका र लाग्न चाहेका महिलाहरुका लागि एक अमूल्य सामाग्री रहेको डब्लूआइआईटीकी एक्स कम सदस्य रत्न तारा वैद्यले बताइन् । 

बिहान ११ बजे देखि सुरु भएको कन्फेरेन्स मध्यपुर ठिमीको मध्यपुर बैंक्वेटमा सञ्चालन भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्यको रुपमा डब्लूआइआइटीकी अध्यक्ष गुण केशरी प्रधानले यो कार्यक्रम प्राविधिक शिक्षा र क्यारियरलाई प्रवद्र्धन गर्न आयोजना गरिएको बताएकी छिन् ।

कन्फेरेन्समा विभिन्न प्रस्तुती पनि सञ्चालन गरिएको थियो । प्राविधिक नेतृत्वको यात्रा विषयमा एनसेलकी सीटीओ लेना केशरी कंसारले प्रस्तुती दिएकी थिइन् । उनले नेपालको कुल ५१ प्रतिशत महिलाको जनशंख्या मध्य ५८ प्रतिशतले उच्च तहको शिक्षा हासिल गर्ने गरेको बताइन् ।

ती मध्य २९ प्रतिशत महिलाहरुले मात्रै कार्यालयहरुमा काम गरिरहेको उनले तथ्यांक सार्वजनिक गरिन् । एनसेलमा पनि कोर कर्मचारीमा १५ प्रतिशतमात्रै महिला रहेको उनको दावी छ । कंसारले महिलाहरुका लागि समावेशी कार्यक्षेत्र बनाउन साना विद्यार्थी तथा किशोरीहरुलाई टेक्निकल विषय प्रतिको डर हटाउनुपर्ने उनको जिकिर छ ।  

आइसिटीमा महिलाको चुनौती र अवसरहरूः नयाँ पुस्ताको यात्रा विषयमा सिएसआईटी एसोसिएसन अफ नेपालकी पूर्व अध्यक्ष रोजिना डाँगीले पनि प्रस्तुती दिएकी थिइन् । उनले सबै शैक्षिक संस्थाहरुमा आईटी क्लब हुनुपर्ने विषयमा जोड दिइन् । आफ्नै अनुभव साट्दै उनले आफू कक्षा ८ मा पढ्दा विभिन्न वैकल्पिक विषय छनोट गर्नुपरेको र कम्प्यूटर छान्दा कूल ९० विद्यार्थीमा आफू मात्रै एक महिला रहेको बताइन् । यस अनुभवले उनलाई प्राविधिक शिक्षा लिन अप्ठयारो पारेको थियो तर पछि कलेजमा आईटी क्लबहरुले गर्दा उनलाई प्राविधिक शिक्षामा रुचि बढ्न गएको उनको भनाई छ ।

यसैगरी यूएस एड इक्वीटी एण्ड इन्क्लुजन इन एजुकेशन, प्लान इन्टरनेशनलकी पार्टी प्रमुख, सजना अमात्य कार्यक्रममा वक्ताको रुपमा रहेकी थिइन् । उनको संस्थाले बालबालिकाहरुको शिक्षामा समानता ल्याउन काम गरिरहेको दावी गरिन् । उनले प्रविधिको सुरक्षित प्रयोगमा विशेष जोड दिइन् । 

कन्फेरेन्समा अतिथि समेत रहेकी नेपाल क्लियरिंग हाउस लिमिटेडकी प्रमुख परिचालन अधिकारी तथा सूचना अधिकारी मुन्नि राजभण्डारीले 'अपरचुनिटिज एण्ड लिडरशीप इन फिनटेक फर यंग गल्र्स' विषयमा प्रस्तुती दिएकी थिइन् । एक दशक भन्दा बढिको अनुभव साट्दै राजभण्डारीले आईटी क्षेत्रमा महिलाहरुले प्रशस्त काम गर्नसक्ने अवसर रहेको बताइन् । 

संस्थाले यस वर्ष दुई दिने कार्यक्रम गरेर अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डे मनाएको हो । हिजो अर्थात अप्रिल २५ मा संस्थाले प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरिको राम्रो स्लोगन र प्लेकार्ड बनाउने तथा वाकाथनमा राम्रो प्रस्तुति गर्नेलाई अवार्ड समेत प्रदान गरिएको छ । प्रभातफेरिको राम्रो स्लोगन र प्लेकार्डको विजेता आदर्श माध्यमिक विद्यालय रहेको थियो भने वाकाथनमा राम्रो प्रस्तुतिको विजेता श्री बालप्रेमी माध्यमिक विद्यालय रहेको थियो ।

उत्कृष्टताको छनौट गर्ने निर्णायक टोलीमा तिमिला यमी थापा, विनिता वैद्य, शोभा सेढाई र समीक्षा सिंह रहेका थिए । आदर्श माध्यमिक विद्यालयबाट सुरू भएको वाकाथन बालकुमारी, विष्णुवीर, यम, मारु, दिगु, बाहखा, पाटोविहार, पाँचो, भुलानखेल, दिगु हुँदै आदर्श माध्यमिक विद्यालयमै आएर अन्त्य भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपुर ठिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले महिलाहरु अगाडि बढ्न आइसिटी क्षेत्रमा प्रवेश गर्नैपर्ने बताएका छन् । यस वर्षको बजेट प्राप्त भएपछि मध्यपुरमा आइसिटी क्लब खोल्ने योजनाबारे पनि श्रेष्ठले प्रकाश पारे । 

यस्तै क्यान फेडेरेसनका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले आईसिटी क्षेत्रका पायोनियर महिलाहरुलाई एकैठाउँमा देखेर अनुभव सुन्न पाउँदा निक्कै खुशी रहेको बताए ।

पहिला आईसिटी क्षेत्रमा महिलाको शंख्या अल्पशंख्यक रहेको र हाल अवस्था सुधार भएको देख्दा निकै हर्षित रहेको पनि बताए ।

यस दुई दिने कार्यक्रममा बालकोट, मध्यपुर ठिमी र वरीपरीको क्षेत्रबाट सात ओटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।