बागमती प्रदेशले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (ईडीएल बागमती) सञ्चालनमा ल्याएको छ । शुक्रबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रणालीको शुभारम्भ गरेका थिए ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गराई छुट्टै बायोमेट्रिक्स लिन नपर्ने गरि बागमती प्रदेश सरकारले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली विकास गरिएको बताए ।
लाइसेन्स र परीक्षाको लिखित र ट्रायल चरणमा मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने र अन्य कार्य अनलाइनमार्फत नै हुने गरि यस प्रणालीमा आवश्यक व्यवस्था गरिएको छ ।
योसँगै सेवाग्राहीले पटक पटक बायोमेट्रिक दिनु पर्ने छैन् । ड्राइभिङ लाइसेन्सका लागि नयाँ फारम भर्दा राष्ट्रिय परिचयपत्र नम्बर भने आवश्यक पर्नेछ । बायोमेट्रिक विवरण भने बागमती प्रदेश सरकारले सम्बन्धित व्यक्तिले राष्ट्रिय परिचयपत्रका दिएको बायोमेट्रिकबाटै तान्नेछ ।
साथै यदी तपाई नागरिक एप चलाउनु हुन्छ भने एपबाटै दर्ता गर्ने विकल्प पनि रहेको छ । सिस्टममा देखाइएको क्युआर नागरिक एपबाट स्क्यान गरेर तपाईले अनुमति दिएपछि आवश्यक पर्ने विवरण नागरिक एपबाट तानिने छ । नागरिक एपमा तपाईले आफ्नो राष्ट्रिय परिचयपत्र लिंक समेत गर्न सक्नुहुनेछ ।
यसले बहुआयामिक रुपमा कार्य सम्पादनमा थप सरलता प्रभावकारिता र सेवा सेवाग्राहीमा सन्तुष्टि ल्याउने विश्वास लिएको उनको भनाइ छ ।
मन्त्री महर्जनका अनुसार ब्लुबुक नवीकरण, सवारीसाधनको कर तथा पटके सेवा अनलाइनबाट लिन सकिने गरि ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम प्रणाली व्यवस्था भएकोमा सोलाई थप प्रभावकारी रुपमा ल्याउन सबै सिस्टमलाई इन्टिग्रेसन गरि व्यवस्थित ल्याउन आवश्यक कार्य भइरहेको छ ।