कीवर्डहरू -

दमकलाई पूर्वी नेपालको ‘आईटी हब’का रूपमा विकास गर्ने बालेनको बाचा

दमकलाई पूर्वी नेपालको ‘आईटी हब’का रूपमा विकास गर्ने बालेनको बाचा

झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आफ्नो चुनावी ‘वाचा पत्र’ सार्वजनिक गर्दै दमकलाई पूर्वी नेपालको ‘आईटी हब’ का रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका शाहले दमकलाई सूचना प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण र सहायक नीतिगत व्यवस्था सुनिश्चित गरिने बताएका छन्।

शिक्षा क्षेत्र सुधारलाई प्राथमिकता दिँदै उनले सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, ECED कक्षा, प्रयोगशाला (ल्याब) र पुस्तकालय स्थापना गर्ने तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, दमक–१० स्थित साइन्स पार्कलाई थप व्यवस्थित गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइने योजना अघि सारिएको छ। ग्रामीण तथा सीमावर्ती क्षेत्रमा भरपर्दो र नियमित मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिने पनि वाचा पत्रमा उल्लेख छ।

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन गुनासो दर्ता प्रणाली लागू गरिने तथा सार्वजनिक कार्यहरूको प्रगति देखिने डिजिटल ड्यासबोर्ड सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।

उम्मेदवार शाहले प्रविधिमैत्री शासन प्रणाली, पारदर्शिता र समावेशी विकासमार्फत झापा–५ लाई डिजिटल तथा दिगो विकासको नमूना क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्।