कीवर्डहरू -

निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

आउँदो प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरेको हो।

बैठकले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप सशक्त बनाउने, निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी निर्वाचनका क्रममा ड्रोन प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको बीमा व्यवस्था गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक वैकल्पिक व्यवस्था मिलाउने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिको निगरानी गर्ने निर्णय गरिएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको निर्वाचनका लागि भइरहेको सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिमको मूल्याङ्कन गरेर सुरक्षा व्यवस्था चुस्त, प्रभावकारी र समन्वित बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।