काठमाडौं । परिवारको इतिहास तथा वंशावली सुरक्षित राख्ने, पुस्ताबीच डिजिटल रूपमा सम्बन्ध जोड्ने र नेपाली संस्कृति तथा दैनिक जीवनमा उपयोगी विभिन्न डिजिटल सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित ‘मेरो पुस्ता’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ ।
नेपाल केन्द्रित यस प्लेटफर्मले बहुपुस्ते पारिवारिक विवरण तथा सम्बन्धलाई डिजिटल रूपमा अभिलेख राख्न सकिने ‘फेमिली ट्री’ सुविधा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो परिवारको वंशावली, पुस्तागत सम्बन्ध तथा पारिवारिक सम्पदा सुरक्षित राख्न सक्नेछन् ।
‘मेरो पुस्ता’मा नेपाली पात्रो तथा पञ्चाङ्गसम्बन्धी सुविधा पनि समावेश गरिएको छ । यसमा विक्रम संवत् तथा इस्वी संवत्को पात्रोका साथै तिथि, नक्षत्र, योग, करण, चाडपर्व र पारिवारिक कार्यक्रमसम्बन्धी जानकारी हेर्न सकिने व्यवस्था छ ।
प्लेटफर्ममा ‘शुभ लगन’ नामक वैवाहिक सुविधा पनि राखिएको छ । प्रयोगकर्ताको उमेर, रुचि तथा प्राथमिकताका आधारमा सम्भावित रूपमा मिल्न सक्ने प्रोफाइल पहिचान गर्नुका साथै परम्परागत कुण्डली तथा ज्योतिषीय मिलानका आधारलाई समेत समेटिएको प्लेटफर्मले जनाएको छ ।
सम्पर्क विवरण भने प्रयोगकर्ताको नियन्त्रणमा रहने गरी गोपनीयतालाई प्राथमिकता दिइएको छ । त्यस्तै, राशि, ग्रह गोचरलगायत परम्परागत ज्योतिषीय गणनासम्बन्धी सुविधा पनि प्लेटफर्ममा उपलब्ध छन् । ‘लाइभ नेपाल’अन्तर्गत मौसम, विदेशी विनिमय दर, भूकम्पसम्बन्धी सूचना, रेडियो तथा नक्सासम्बन्धी सेवा समेटिएका छन् ।
परिवारसँग सम्बन्धित तस्बिर, सम्झना, आवाज तथा पुस्तागत घटनाक्रम सुरक्षित राख्न ‘फेमिली मेमोरिज’ सुविधा राखिएको छ । यसले पारिवारिक फोटो तथा अन्य स्मृतिलाई डिजिटल रूपमा व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्य राखेको छ ।
नेपाली संस्कृति तथा आध्यात्मिक सामाग्रीतर्फ पूजा विधि, स्तोत्रलगायत परम्परागत स्रोत तथा जानकारी पनि प्लेटफर्ममा समेटिएका छन् । परिवारका महत्वपूर्ण मिति, कार्यक्रम, चाडपर्व तथा अन्य गतिविधिका लागि स्मार्ट सूचनाको सुविधा समेत उपलब्ध छ ।
दैनिक प्रयोगमा आउने विक्रम संवत्–इस्वी संवत् मिति रूपान्तरण, क्याल्कुलेटर, नेपाली युनिकोडलगायत उपयोगी उपकरण पनि प्लेटफर्ममा राखिएका छन् । मनोरञ्जनतर्फ लुडो, सर्प–सीढी तथा विभिन्न पजल खेल समावेश गरिएको छ भने पोडकास्ट तथा अडियो सामाग्रीका लागि छुट्टै खण्ड समेत रहेको छ ।
‘मेरो पुस्ता’ हाल वेब तथा प्रोग्रेसिभ वेब एप (पीडब्लुए) का रूपमा प्रयोग गर्न सकिन्छ । यसको एन्ड्रोइड एप भने आगामी चरणमा सार्वजनिक गर्ने तयारी रहेको छ ।प्लेटफर्मले विश्वसनीय सञ्चारमाध्यमबाट प्रकाशित समाचार प्रयोगकर्तालाई उपलब्ध गराउने उद्देश्यले छुट्टै ‘न्युज सेक्सन’ समेत विकास गरेको जनाएको छ ।
उक्त खण्डमा सम्बन्धित सञ्चारमाध्यमको अनुमति लिएर समाचारको शीर्षक र आवश्यक परे छोटो सारांश देखाउने तथा मूल समाचारतर्फ लैजाने व्यवस्था गर्ने योजना छ ।
समाचार सामाग्री प्रयोग गर्दा मूल प्रकाशकको नाम, प्रकाशन मिति तथा समय यथासम्भव कायम राख्ने र प्रत्येक सामाग्रीमा सम्बन्धित सञ्चारमाध्यमको आधिकारिक वेबसाइटमा प्रकाशित मूल समाचारतर्फ जाने ‘रिड फुल न्युज’ लिंक राख्ने प्लेटफर्मले जनाएको छ ।
लिखित अनुमति नलिई पूर्ण समाचार सामाग्री प्रतिलिपि, पुन:प्रकाशन, अभिलेखीकरण वा भण्डारण नगर्ने पनि ‘मेरो पुस्ता’को भनाइ छ । सञ्चारमाध्यमले आरएसएस फिड, न्युज एपीआई, सामाग्री सिन्डिकेसन सेवा वा लाइसेन्सिङ कार्यक्रम उपलब्ध गराएको अवस्थामा सोहीअनुसार प्राविधिक तथा प्रतिलिपि अधिकारसम्बन्धी आवश्यक मापदण्ड पालना गर्ने प्लेटफर्मले जनाएको छ ।
‘मेरो पुस्ता’का अनुसार यसको उद्देश्य मूल समाचार प्रकाशकलाई प्रतिस्थापन गर्नु नभई विश्वसनीय समाचार पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्दै मूल प्रकाशकको वेबसाइटतर्फ पाठकलाई लैजानु हो ।
सम्बन्धित सञ्चारमाध्यमबाट औपचारिक अनुमति प्राप्त नभएसम्म समाचार सामाग्री एकीकरणका लागि स्रोतलाई पेन्डिङ वा निष्क्रिय अवस्थामा राखिने प्लेटफर्मले जनाएको छ । प्लेटफर्मबारे थप जानकारी तथा सेवा प्रयोग गर्न ‘meropusta.com’ मार्फत पहुँच गर्न सकिन्छ ।
आईसीटी समाचार