कीवर्डहरू -

बाइटडान्सले अमेरिकी बजारका लागि नयाँ टिकटक एप बनाउँदै, सेप्टेम्बर ५ मा सार्वजनिक गर्ने तयारी

बाइटडान्सले अमेरिकी बजारका लागि नयाँ टिकटक एप बनाउँदै, सेप्टेम्बर ५ मा सार्वजनिक गर्ने तयारी

टिकटकको मालिक कम्पनी बाइटडान्सले अमेरिकी बजारका लागि छुट्टै नयाँ एप तयार पारिरहेको छ, जसलाई ‘M2’ नाम दिइएको छ  । द इन्फर्मेसनको रिपोर्ट अनुसार, यो नयाँ एप आगामी सेप्टेम्बर ५ मा सार्वजनिक गरिनेछ । 

नयाँ अमेरिकी कानुनअनुसार बाइटडान्सले आफ्नो अमेरिकी टिकटक व्यापार बेच्नुपर्ने वा देशभर प्रतिबन्धको सामना गर्नुपर्ने भएपछि कम्पनीले यो कदम चालेको हो ।

रिपोर्ट अनुसार, अमेरिकामा रहेका प्रयोगकर्ताहरूले टिकटक प्रयोग गर्न M2 एपमा सर्नु पर्नेछ। नयाँ एप सार्वजनिक भएपछि अहिलेको टिकटक एप (जसलाई कम्पनीले आन्तरिक रूपमा ‘M’ भन्छ) अमेरिकी एप स्टोरहरूबाट हटाइनेछ । 

हालको एप सन् २०२६ को मार्चदेखि अमेरिका भित्र नचल्ने सम्भावना छ, यद्यपि यो समयसीमा परिवर्तन हुन सक्ने छ । यो घटनाक्रम अमेरिका र टिकटकबीचको लामो विवादको पछिल्लो चरण हो ।

पूर्व राष्ट्रपति जो बाइडेनले पारित गरेको कानुनअनुसार बाइटडान्सलाई जनवरी १९ सम्म आफ्नो अमेरिकी व्यवसाय बिक्री गर्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार सम्हालेपछि उक्त कानुन कार्यान्वयन स्थगित गरेका थिए। उनले अहिलेसम्म तीनपटक म्याद थपिसकेका छन्, र अहिलेको समयसीमा अनुसार प्रतिबन्ध सेप्टेम्बर १७ बाट लागू हुने सम्भावना छ।

जुन महिनाको अन्त्यतिर ट्रम्पले टिकटकको अमेरिकी व्यवसाय किन्ने एक समूह पहिल्यै तय भइसकेको दाबी गरेका थिए। उनले ती ‘धेरै धनी व्यक्तिहरूको समूह’ रहेको र करिब जुन १३ तिर परिचय खुल्ने बताएका थिए ।

उनले यो सम्झौता चिनियाँ सरकारले स्वीकृत गर्नुपर्ने सम्भावना रहेको स्वीकार्दै, स्वीकृति आउनेमा शंका व्यक्त गरेका थिए । सोमबार एक चिनियाँ सरकारी प्रवक्ताले ट्रम्पको दाबीसम्बन्धी प्रश्नलाई टारिदिएका थिए ।