कीवर्डहरू -

च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार

च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार

ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्करणहरू जस्तै च्याटजीपीटी-४ओ, च्याटजीपीटी-४.५, र च्याटजीपीटी-३.५ भन्दा निकै बुद्धिमान, तीव्र र सुरक्षित छ ।

च्याटजीपीटी-५ केवल एक साधारण संस्करण-अपडेट मात्र नभएर, यो तर्क क्षमतामा, तथ्यगत शुद्धता, र प्रयोगकर्तासँगको अन्तरक्रियामा भएको ठूलो प्राविधिक छलाङ भएको ओपन एआईको दावी छ । यसलाई शिक्षा, रोजगारी, व्यवसाय, र दैनिक जीवनका कार्यहरूमा अधिकतम प्रभावकारी बनाउन डिजाइन गरिएको छ।

अघिल्ला मोडेलहरूको तुलनामा, च्याटजीपीटी-५ ले करिब ८० प्रतिशत कम तर्कगत गल्ती गर्ने क्षमता प्रदर्शन गरेको छ । तथ्यगत जानकारी दिनु पर्दा यसले ४५ प्रतिशतकम त्रुटि गर्छ, जसले यसलाई शैक्षिक अनुसन्धान, सरकारी परीक्षा तयारी, र पेशागत कार्यका लागि उच्च विश्वासिलो बनाउँछ।

ओपनएआईका सीईओ सैम अल्टम्यानले नयाँ मोडेललाई “हाम्रो एजीआईतर्फको यात्रामा एक महत्वपूर्ण कदम” भने, तर उनले मुख्य रूपमा यसको प्रयोगमैत्रीतालाई जोड दिए , उनका अनुसार हरेक हप्ता करिब ७० करोड मानिसले च्याटजीपीटी प्रयोग गर्छन्।

“यो कुनै विशेषज्ञसँग कुरा गर्ने जस्तो हो, आवश्यकता परेमा कुनै पनि क्षेत्रका वास्तविक पीएचडी-स्तरका विशेषज्ञको पहुँच पाउन सकिन्छ,” आल्टम्यानले बिहीबार लाईभस्ट्रीम गरिएको शुभारम्भ कार्यक्रममा भने।

च्याटजीपीटी-५ ले ईमेल लेखन, रिपोर्ट सम्पादन, बायोडाटा र आवरण-पत्र तयार गर्ने कार्यदेखि लिएर रचनात्मक लेखन र भाषानुवादसम्मका क्षेत्रमा गुणस्तरीय सुधार गरेको छ । यसले प्रयोगकर्ताको निर्देशन अनुसार शैली, टोन र संरचना अनुकूलन गर्न सक्ने क्षमता पनि बढाएको कम्पनीको दावी छ । 

यस संस्करणमा कोडिङ क्षमतामा उल्लेखनीय विस्तार गरिएको छ। अब केवल एउटा निर्देशन (प्रम्प्ट) दिएर नै वेब एप, मोबाइल एप, वा साधारण कम्प्युटर खेल तयार गर्न सकिन्छ। यसले जटिल प्रोग्रामिङ तर्क बुझ्न र समाधान गर्न सक्षम भएकोले, यो नयाँ सिक्नेदेखि लिएर अनुभवी विकासकर्तासम्मका लागि उपयोगी छ।

साथै स्वास्थ्यसम्बन्धी प्रश्नहरूको जवाफ दिने क्रममा च्याटजीपीटी-५ पहिलेभन्दा बढी सावधान र सटीक छ । यसले रोगका लक्षण, चिकित्सा शब्दावली, र स्वास्थ्यसम्बन्धी वैज्ञानिक तथ्य बुझाउन सहयोग पुर्‍याउँछ। तर, यसले स्पष्ट रूपमा चेतावनी दिन्छ कि कुनै पनि रोगको निदान वा उपचारका लागि योग्य स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

च्याटजीपीटी-५ अघिल्ला मोडेलहरूको तुलनामा अझ द्रुत छ र प्रयोगकर्ताको आवश्यकता अनुसार संक्षिप्त वा विस्तृत जवाफ दिने निर्णय स्वतः गर्नेछ । यसले प्रसङ्गलाई गहिरो रूपमा सम्झने र निरन्तरता कायम राख्ने क्षमता पनि बढाएको छ ।

अघिल्ला मोडेलहरूमा देखिएको ‘ह्यालुसिनेसन’ अर्थात् आत्मविश्वासका साथ गलत जानकारी दिने समस्या, च्याटजीपीटी-५ मा न्यूनतम पारिएको छ। यसका लागि ओपनएआईले बहु-स्तरीय तथ्य-जाँच प्रणाली, जैविक र नैतिक जोखिम घटाउने नियन्त्रणहरू, र सुरक्षित डेटा-प्रक्रिया तन्त्र लागू गरेको छ।

च्याटजीपीटी ५ प्रयोगमा सिमितता छ । सिमा सकिएपछि  स्वतः ‘च्याटजीपीटी-५ मिनी’ मा स्विच हुनेछ । यस्तै प्लस, प्रो, टिम र इन्टरप्राइज प्रयोगकर्ताले भने च्याटजीपीटी-५ प्रोको समेत प्रयोगब गर्न पाउने छन् । च्याटजीपीटी-५ सबै प्रयोगकर्ताहरूका लागि स्वतः डिफल्ट मोडेल बन्ने छ। कुनै अपडेट गर्नुपर्ने छैन् ।