च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धेरै सुधारको र अब यसले विगतका कुरा सम्झन सक्ने बताएका छन् ।
‘हामीले च्याटजीपीटीमा मेमोरीलाई धेरै सुधार गरेका छौं । अब यसले तपाईंका सबै विगतका कुराकानीहरू रिफरेन्स लिन सक्छ,’ उनले एक्समा भनेका छन्, ‘मेरो विचारमा यो उपयोगी सुविधा हो । जसले तपाईंलाई जीवनभर चिन्ने र अत्यन्तै उपयोगी तथा व्यक्तिगत बन्ने क्षमता राख्छ ।’
ओपन एआईले सन् २०२३ देखि नै च्याटजीपीटीको मेमोरी सुधार गर्न काम गरिरहेको थियो । अब प्रयोगकर्ताले आफ्नो प्राथमिकताहरू सेट गर्न सक्ने र भविष्यको कुराकानीमा ध्यानमा राख्ने व्यवस्था मिलाउन सक्ने छन् ।
उदाहरणका लागि, तपाईंले बोटलाई भन्न सक्नुहुन्छ कि तपाईं चार जनाको परिवारमा हुनुहुन्छ, र जब तपाईं डिनरको रेसिपी सोध्नुहुन्छ, त्यसलाई त्यस जानकारी याद हुनेछ ।
गत वर्षको सुरुवातदेखि, ओपन एआईले प्रयोगकर्ताहरूलाई च्याटबाट प्राप्त जानकारी सम्झन निर्देशन दिने सुविधा उपलब्ध गराउन थालेको थियो । अहिलेको नयाँ अपडेटसंगै च्याटजीपीटीले तपाईंले सोझै दिएको जानकारी मात्र होइन, कुराकानीबाट बुझेका कुराहरू पनि याद गर्न सक्छ ।
‘जति धेरै च्याटजीपीटी प्रयोग गर्नुहुन्छ, उति नै उपयोगी हुन्छ । नयाँ कुराकानीहरू त्यसले पहिले नै थाहा पाएका कुराहरूमा आधारित हुन्छन् जसले अझ सहज र व्यक्तिगत अनुभव प्रदान गर्छ,’ ओपन एआईले भनेको छ ।
कम्पनीले यो अपडेट अहिले २०० अमेरेकी डलर प्रति महिना पर्ने प्रो योजना र २० अमेरिकी डलर प्रति महिना पर्ने प्लस योजना प्रयोगकर्ताहरूका लागि सार्वजनिक गर्दैछ । टिम, इन्टरप्राइज र एडु प्रयोगकर्ताहरूले केही हप्ताभित्र यो सुविधा पाउनेछन् । कम्पनीले निःशुल्क प्रयोगकर्ताहरूका लागि कहिले सुविधा आउँछ भन्ने खुलाएको छैन।
यदि तपाईं च्याटजीपीटीले तपाईंको कुराकानी सम्झियोस् भन्ने चाहनुहुन्न भने सेटिङ मेनुबाट बन्द गर्न सक्नुहुन्छ । ‘यदि तपाईंले पहिले नै मेमोरी प्रयोग नगर्ने विकल्प रोज्नु भएको छ भने, च्याटजीपीटीले डिफल्ट रूपमा विगतका कुराकानीहरू सन्दर्भ गर्ने छैन,’ ओपन एआईले भनेको छ ।
तपाईंले टेम्पोररी च्याटको प्रयोग पनि गर्न सक्नुहुन्छ, जुन सुविधा कुनै विशेष कुराकानीमा तपाईंले याद नगरियोस् भन्ने चाहनुहुन्छ भने प्रयोग गर्न सकिन्छ ।