चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल ‘Seedance 2.0’ ले हलिउडमा हलचल मच्चाएको छ।
सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको मातृ कम्पनीले ल्याएको यो प्रविधिले केही लिखित निर्देशन (प्रम्प्ट) मात्रका आधारमा ध्वनि प्रभाव र संवादसहित सिनेमा–स्तरको भिडियो तयार गर्न सक्ने क्षमता देखाएको छ।
सिडान्स प्रयोग गरेर बनाइएका भनिएका स्पाइडर–म्यान र डेडपुल जस्ता चर्चित पात्र समेटिएका भिडियोहरू भाइरल बनेपछि प्रमुख स्टुडियोहरूले कडा आपत्ति जनाएका छन्। द वाल्ट डिज्नी कम्पनी र पारामाउन्ट पिक्चर्सले कपीराइट उल्लङ्घनको आरोप लगाउँदै बाइटडान्सलाई ‘सीज एन्ड डिसिस्ट’ पत्र पठाएका छन्। जापानले पनि लोकप्रिय एनिमे पात्रहरूको एआई भिडियो भाइरल भएपछि सम्भावित कपीराइट उल्लङ्घनबारे अनुसन्धान थालेको छ।
के हो सिडान्स २.ओ?
सिडान्स पहिलोपटक जुन २०२५ मा सार्वजनिक भए पनि यसको दोस्रो संस्करणले आठ महिनापछि ठूलो चर्चा कमाएको छ। क्रिएटिभ स्टुडियो भिडियोस्टेटका जान–विलेम ब्लोमका अनुसार यो अब साधारण एआई जस्तो देखिँदैन, बरु वास्तविक फिल्म निर्माण प्रक्रियाबाट आएको उत्पादन जस्तो देखिन्छ।
मिडजर्नी र सोरा जस्ता अन्य एआई उपकरणले पनि टेक्स्टबाट भिडियो बनाउन सक्छन्। तर सिडान्सले टेक्स्ट, दृश्य र अडियोलाई एउटै प्रणालीमा संयोजन गरेर उच्च गुणस्तरको परिणाम दिएको दाबी गरिएको छ।
यसको क्षमताको परीक्षण अनौठो तरिकाले गरिएको छ—अभिनेता विल स्मिथ स्पेगेटी खाइरहेको दृश्य कति यथार्थपरक बनाउँछ भन्ने आधारमा। सीडान्सले केवल यथार्थपरक दृश्य मात्र होइन, ‘स्पेगेटी दानव’ सँग लडिरहेको विल स्मिथको ठूलो बजेटको चलचित्र जस्तै देखिने भिडियोसमेत उत्पादन गरेको छ।
कपीराइट र नैतिक बहस
एआई प्रविधिको तीव्र विकाससँगै कपीराइट विवाद पनि बढ्दै गएको छ। सन् २०२३ मा द न्युयोर्क टाइम्सले ओपन एआई र माइक्रोसफ्ट विरुद्ध आफ्नो सामग्री अनुमति बिना प्रयोग गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
त्यस्तै, रेडिटले एआई कम्पनी परप्लेक्सिटी विरुद्ध प्रयोगकर्ताको पोस्ट अवैध रूपमा संकलन गरेको दाबी गरेको थियो।
विशेषज्ञहरूका अनुसार ‘कुल’ देखिने भिडियोभन्दा पनि सामग्री स्पष्ट रूपमा लेबल गर्ने, लाइसेन्स व्यवस्थापन गर्ने र दुरुपयोगविरुद्ध उजुरी संयन्त्र बनाउने विषय महत्त्वपूर्ण छन्।
साना स्टुडियोका लागि अवसर
सिङ्गापुरस्थित एनिमेसन स्टुडियो टाइनी आईसल्याण्ड प्रोडक्सन्सका निर्देशक डेभिड क्वोकका अनुसार, यस्तो गुणस्तरको एआईले साना कम्पनीलाई कम बजेटमै ठूलो परिकल्पनाका चलचित्र बनाउन मद्दत पुर्याउनेछ।
एसियामा करिब १ लाख ४० हजार डलर बजेटमा ८० वटासम्म दुई मिनेटका एपिसोड बन्ने माइक्रो–ड्रामाको बजार बढ्दो छ। अब एआईका कारण यस्ता उत्पादनहरू साइ–फाइ, एक्सन वा पिरियड ड्रामा जस्ता विधामा विस्तार हुन सक्ने सम्भावना देखिएको छ।
चीन एआई दौडमा अगाडि ?
सीडान्स २.ओले चिनियाँ प्रविधि फेरि चर्चामा ल्याएको छ। गत वर्ष चिनियाँ एआई मोडेल डिपसिकले कम लागतमा शक्तिशाली भाषा मोडेल ल्याएर विश्व बजारमा तरंग सिर्जना गरेको थियो।
बेइजिङले एआई, रोबोटिक्स र उन्नत चिप उत्पादनलाई आर्थिक रणनीतिको केन्द्रमा राखेर ठूलो लगानी गरिरहेको छ। विश्लेषकहरूका अनुसार २०२६ चीनमा एआईको व्यापक प्रयोगको मोडबिन्दु वर्ष हुन सक्छ—जहाँ च्याटबट मात्र होइन, एआई एजेन्ट, कोडिङ उपकरण र भिडियो निर्माण प्रणाली दैनिक कामको हिस्सा बन्नेछन्।
यसरी सीडान्स २.ओले सिर्जनात्मक उद्योगमा नयाँ अवसर र गम्भीर चुनौती दुवै प्रस्तुत गरेको छ। कानुनी र नैतिक मापदण्ड स्पष्ट नभएसम्म एआई प्रविधिको तीव्र विकासले विश्व मनोरञ्जन उद्योगमा बहस र विवाद जारी रहने देखिन्छ।
आईसीटी समाचार