कीवर्डहरू -

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येेबाट अधिाकरी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र  व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका छन् । 


चितवनको भरतपुर महानगरपालिका निवासी अधिकारी साइबर सुरक्षा र नेटवर्किङ क्षेत्रमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वको रूपमा परिचित छन्। उनले सूचना सुरक्षा, आईटी शासन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौं लेख प्रकाशन गरिसकेका छन्।

अधिकारीलाई नेपालको सूचना तथा प्रविधि क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि मन्त्रिपरिषद् पूर्व अध्यक्ष खिलराज रेग्मीबाट गत वर्ष “आईसीटी एक्सिलेन्स अवार्ड २०२४” प्रदान गरिएको थियो । उक्त सम्मान चन्द्रलोक फाउन्डेसनद्वारा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो ।

आईसीटी क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभवसहित अधिकारीले नेपालको साइबर सुरक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। अधिकारीले नेपालभरि ५०० भन्दा बढी साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिसकेका छन्।

उनी ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (#npCert) को निर्वतमान अध्यक्ष, सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसन (#CSRI) को संस्थापक अध्यक्ष र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रालिका सीईओ समेत हुन् ।

साथै, सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा अध्यापनमार्फत शैक्षिक योगदान पनि दिँदै आएका छन्।

अधिकारी नेपाली युवालाई प्रविधिमा संलग्न गराउने तथा स्टार्टअप संस्कृति विकास गर्न क्रियाशील छन्। उनका पहलहरूले धेरै युवालाई प्रविधिमा करियर बनाउन उत्प्रेरणा प्रदान गरेको छ।