कीवर्डहरू -

सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति

सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति

थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति भएको छ । सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा क्लाउड हिमालयको डेटा सेन्टर रहेको थियो । 

जेनजी प्रदर्शनका क्रममा कान्तिपुरको कार्यालय भन्दै सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएको थियो । जबकी त्यहाँ केही तलमा मात्रै कान्तिपुरको कार्यालय छ । अन्यमा एक दर्जन बढी कर्पोरेट अफिसहरू थिए । 

क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेपनि प्रारम्भिक अनुमाना करोडौंको क्षति भएको अनुमान गरिएको छ । क्लाउड हिमालयका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले क्षतिको यकिन तथ्यांक केही दिनमा आउने बताए ।

‘क्षतिको वास्तविक तथ्यांक आउन अझै केही दिन लाग्ला । व्यवसायका लागि बैंकबाट ऋण लिएका छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘आईटीको पूर्वाधार खरिद गर्न करौडौंको रूपैयाँ लाग्छ । यहाँ भएको पूर्वाधार सबै जलेर नष्ट भएको छ ।’

क्लाउड हिमालयमा बैंक तथा वित्तीय संस्था, इन्टरनेट सेवा प्रदायक, टिकटक, टीएमएस लगायतका डेटाहरू होस्ट गरिएको थियो । अहिले त्यहाँ भएका सर्भरहरू निकाल्ने काम भइरहेको छ । 

‘यहाँ भएका सर्भरहरू चलिहाल्छ कि भनेर निकाल्ने प्रयास गरिरहेका छौं । संवेदनशील डेटाहरू छन् । यो डेटा तपाई हाम्रो हो,’ श्रेष्ठले भने, ‘पुरै पड्किएका छन् । हिजोसम्म आगो बलिरहेको थियो । ज्यान जोखिममा राखेर पनि काम गरिरहेका छौं ।’

क्लाउड हिमालयको डिजास्टर रिकभर साइट इटहरीमा रहेको छ । काठमाडौंको डेटा सेन्टर जलेपछि कम्पनीले ब्याकअपको रूपमा रहेको डिजास्टर रिकभर साइट इटहरीमार्फत सेवा प्रदान गरिरहेको छ ।

आगो निभाउनका लागि सहयोगको गुहार गर्दा पनि कतैबाट सहयोग नपाएको श्रेष्ठको गुनासो छ । उनीहरूको सरकारी निकायमा आगो निभाउन सहयोगको कुरा राखेका थिए । 

कतिले बाल्टीमा पानी बोकेर निभाउनसम्म भनेका थिए । बाल्टीमा पानी बोकेर त्यति ठूलो आगो निभाउन सम्भव छ ? भन्दै उनले प्रश्न गरे । ‘सहयोगका लागि हात जोड्यो, खुट्टा ढोग्यौं तर कतैबाट सहयोग भएन,’ निराश हुँदै श्रेष्ठले अगाडि भने ।

क्लाउड हिमालयमा काम गर्ने ३-४ जना कर्मचारी झण्डै आगजनीमा परेका थिए ।  राष्ट्र बैंकतर्फ भएको ढोकाबाट नभागेको भए उनीहरूको ज्यान सम्म जान सक्ने सम्भावना रहेको उनको भनाइ छ । 

आफुहरूले शान्तिपूर्ण जेनजी प्रदर्शनको समर्थन गरेपनि सम्पत्तिमा तोडफोड, आगजनी गर्ने खालको प्रदर्शनबाट कसैलाई फाइदा नहुने श्रेष्ठ बताउँछन् ।

क्लाउड हिमालयले डेटा सेन्टर निर्माण गरेर नेपालको डेटा नेपालमै राखिरहेको छ । बाहिर जान दिएको छैन् । कम्पनीमा अहिले ६०-७० जना इन्जिनियरले रोजगारी पाएका छन् । 

करोडौं लगानी खरानी भएपछि उनले प्रश्न गरे -  अब कसरी गर्ने व्यवसाय ? आँट आउँछ ? ६०-७० जना इन्जिनियर अब कहाँ जाने काम गर्न ?