कीवर्डहरू -

एक क्लिकले बनाउँछ डिजिटल पहिचान, यसरी जोगाउनुहोस् गोपनीयता

एक क्लिकले बनाउँछ डिजिटल पहिचान, यसरी जोगाउनुहोस् गोपनीयता

धेरै इन्टरनेट प्रयोगकर्ताहरूलाई लाग्छ—यदि सर्च इतिहास मेटाइयो वा ‘प्राइभेट ट्याब’ प्रयोग गरियो भने आफ्नो अनलाइन गतिविधि कसैले पनि निगरानी गर्न सक्दैन। तर वास्तविकता यसभन्दा निकै फरक छ।

तपाईंको उपकरणमा हुने हरेक क्लिक, एपले लिने हरेक अनुमति र ब्याकग्राउन्डमा चल्ने गतिविधिहरूले मिलेर तपाईंको एउटा ‘डिजिटल पहिचान’ तयार हुन्छ, जसलाई प्रविधि कम्पनीदेखि साइबर अपराधीहरूसम्मले सजिलै ट्र्याक गर्न सक्छन्।

हालै गरिएको एक अध्ययनले पनि स्पष्ट देखाएको छ—डिजिटल गोपनीयता जोगाउन कुनै एउटै उपाय पर्याप्त हुँदैन। यदि तपाईं साँच्चै सुरक्षित रहन चाहनुहुन्छ भने, सुरक्षा का धेरै तहहरू अपनाउनु अनिवार्य हुन्छ।

जीरो–लग वीपीएनको प्रयोग

एक भरपर्दो भर्चुअल प्राइभेट नेटवर्क (VPN) ले तपाईंको वास्तविक आईपी ठेगाना लुकाउँछ र इन्टरनेट कनेक्शनलाई एन्क्रिप्ट गर्छ। विशेषगरी जीरो–लग नीति भएको सेवा रोज्नु महत्त्वपूर्ण हुन्छ, जसको अर्थ उक्त कम्पनीले तपाईंको अनलाइन गतिविधिको कुनै रेकर्ड राख्दैन। यसले वेबसाइट र इन्टरनेट सेवा प्रदायक (ISP) बाट हुने निगरानीलाई निकै हदसम्म रोक्छ।

नेटवर्क बदल्दै प्रयोग गर्ने बानी

सबै गतिविधि—जस्तै बैंकिङ, सामाजिक सञ्जाल र खोज—एउटै वाइ–फाइ वा एउटै डिभाइसबाट गर्दा तपाईंको व्यवहारिक ढाँचा (pattern) बन्न जान्छ, जुन ट्र्याक गर्न सजिलो हुन्छ। संवेदनशील कामका लागि फरक नेटवर्क, मोबाइल डाटा वा सम्भव भए फरक डिभाइस प्रयोग गर्नुहोस्। यसले तपाईंको पहिचान र गतिविधिबीचको सम्बन्ध कमजोर बनाउँछ।

ट्र्याकरहरू नियन्त्रणमा राख्नुहोस्

धेरै वेबसाइट र एपहरूले कुकीज र ट्र्याकरमार्फत प्रयोगकर्ताको गतिविधि पछ्याइरहेका हुन्छन्। एउटै इमेल ठेगाना र एउटै युजरनेम सबै प्लेटफर्ममा प्रयोग नगर्नुहोस्, किनकि यसले प्रोफाइलिङ झनै सजिलो बनाउँछ। प्रयोग सकेपछि लगआउट गर्ने बानी बसाल्नुहोस् र गोपनीयतामैत्री खोज इञ्जिन प्रयोग गर्नु उपयुक्त हुन्छ।

एन्क्रिप्शन: डिजिटल सुरक्षा कवच

व्यक्तिगत सन्देश, फाइल र संवेदनशील डाटा सधैं एन्क्रिप्ट गरेर राख्नुपर्छ। एन्क्रिप्शनले तपाईंको जानकारीलाई त्यस्तो कोडमा बदलिदिन्छ, जसलाई उचित कुञ्जी बिना पढ्न सकिँदैन। क्लाउड सेवा प्रयोग गर्दा स्वतः सिङ्किङ बन्द राख्नु राम्रो हुन्छ, ताकि निजी जानकारी अनावश्यक रूपमा अनलाइन अपलोड नहोस्।

डिजिटल बानी परिवर्तन नै दीर्घकालीन समाधान

इन्टरनेटमा गोपनीयता जोगाउनु एकदिनको काम होइन। यसलाई दैनिक जीवनको अभ्यास बनाउनु पर्छ। समय–समयमा फोनबाट अनावश्यक एप हटाउनुहोस्, एपले मागेका अनुमति पुनः जाँच गर्नुहोस्।

सामाजिक सञ्जालमा यात्रा, परिवार वा व्यक्तिगत विवरण सार्वजनिक गर्दा सचेत रहनुहोस्। साना तर निरन्तर परिवर्तन र बलियो पासवर्ड प्रयोगले दीर्घकालीन डिजिटल सुरक्षा सुनिश्चित गर्न सक्छ।