प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले प्रि-डिप्लोमा र डिप्लोमा तहमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पढ्नका लागि करिब ४०० लाई छात्रवृत्ति दिने भएको छ ।
सीटीईभीटीले प्रि-डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र डिप्लोमा इन इनफर्मेसन टेक्नोलोजी (आईटी) कार्यक्रममा निःशुल्क छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
शैक्षिक सत्र २०८२/८३ का लागि प्रि-डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा १०८ जना, डिप्लोमा इन आईटीमा ८८ जना र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा १८८ जना गरी ३८४ विद्यार्थीका लागि निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएएको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए ।
निःशुल्क छात्रवृत्तिका लागि खुला कोटा बाहेक महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा द्वन्द्व प्रभावित विद्यार्थीहरूका लागि आरक्षण कोटा छुट्याइएको छ ।
अहिले सीटीईभीटीले निःशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फ अनलाइन आवेदन खुला गरेको छ । अधिकारीका अनुसार प्रि-डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रम देशभरका ३७ शिक्षालयमा, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रम ५० शिक्षालयमा तथा डिप्लोमा इन आईटी कार्यक्रम २४ शिक्षालयमा पढाइ हुनेछ ।
प्रि-डिप्लोमा कार्यक्रमको अवधि १८ महिना रहेको छ भने डिप्लोमा तहको कार्यक्रम ३ वर्षको हुनेछ । प्रि-डिप्लोमा तहमा आवेदन दिन एसईईमा एनजी आए पनि सम्भव छ । तर डिप्लोमा तहका लागि कम्तीमा १.६ जीपीए अनिवार्य गरिएको छ ।
एसईई उत्तीर्ण गरिएका विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । सरकारी वा सामुदायिक विद्यालयहरूबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले निःशुल्क छात्रवृत्ति र पूर्ण शुल्कीयमा आवेदन दिन सक्नेछन्, भने निजी विद्यालयहरूबाट एसईई दिएका विद्यार्थीहरूले पूर्ण शुल्कीय तर्फ मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रमहरूमा छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फ अनलाइन आवेदन दिने अन्तिम म्याद २०८२ साउन ११ गते आइतबारसम्म तोकिएको छ । आवेदन प्रक्रिया तथा अन्य जानकारीका लागि CTEVT परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.ctevtexam.org.np मा गई अनलाइन फारम भरी आवेदन दिन सकिनेछ । साथै, थप जानकारीका लागि सम्बन्धित शिक्षालय वा परिषद्को कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।