कीवर्डहरू -

साउन ९ देखि डीएभी कलेजमा ह्याकाथन हुँदै, स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्ने

साउन ९ देखि डीएभी कलेजमा ह्याकाथन हुँदै, स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्ने

ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आगामी साउन ९ देखि ११ गतेसम्म (जुलाई २५–२७) राष्ट्रिय स्तरको तीन दिने ह्याकाथन ‘डीएभी कोडफेस्ट २०२५’  आयोजना हुने भएको छ । 
डीएभी कलेजको आईटी क्लब कग्निटोले आयोजना गर्न लागेको यस ह्याकाथनमा देशभरका स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्ने छन् । 

डीएभी कोडफेस्ट २०२५ ले विद्यार्थीहरूमा सिर्जनशीलता र टोलीमा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताइएको छ । 

कार्यक्रममा सहभागी टोलीहरूले ४८ घण्टे कोडिङ प्रतिस्पर्धामा शिक्षा, साइबर सुरक्षा, बिजनेस प्रविधि, स्वास्थ्य र सामाजिक प्रभाव लगायत क्षेत्रका वास्तविक समस्या समाधान गर्न प्रयास गर्नेछन् । 

प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ — पहिलो चरणमा आइडिया प्रस्तुत गरेर छनोट गरिनेछ, दोस्रो चरण ४८ घण्टे कोडिङ हुनेछ, र अन्तिममा टोलीहरूले आफ्नो प्रोजेक्टको प्रस्तुति दिनेछन्। अन्तिम दिन निर्णायकहरूले विजेताहरूको घोषणा गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले साउन ३ गते (जुलाई १८) सम्म दर्ता फाराम बुझाउनुपर्नेछ । दर्ता शुल्क ५ हजार रूपैयाँ तोकिएको छ तर यो शुल्क टिम अन्तरवार्ता पश्चात टिम शर्टलिष्ट भएपछि मात्र तिर्नुपर्नेछ । सहभागीताका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ । 

एउटा टोलीमा २ देखि ५ सदस्यसम्म हुन सक्नेछन्। कोडफेस्टमा पहिले हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस बाहेक अन्य विभिन्न पुरस्कारहरू पनि प्रदान गरिने जनाइएको छ ।