एडिट इन्टरप्राइजेजले आयोजना गरेको डेभकन २०२५ सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको डेभकनमा एआई र डेटाको विषयमा दिनभर छलफल गरिएको थियो ।
बलियो टेक कम्युनिटी विकास गर्न तथा एआई र डेटा सम्बन्धि ज्ञान आदान प्रदान गर्न कार्यक्रम आयोजना गरेको एडिट इन्टरप्राइजेजकी बिजनेस डेभलपमेन्ट म्यानेजर रोजिना तिम्सिनाले जानकारी दिइन् ।
कार्यक्रममा किनोट प्रस्तुती दिदै अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयका प्राध्यापक डा. जेम्स जोशीले प्रविधिको विकाससँगै डेटा गोपनीयता र साइबर सुरक्षामा चुनौती थपिएको बताए ।
एआईको फाउन्डेसन डेटा भएको बताउँदै उनले गुणस्तरीय डेटा बिना एआई इकोसिस्टममा सफल हुन नसकिने समेत जानकारी दिए । गोपनीयतालाई संरक्षण गर्दै प्रविधिको विकास गर्नुपर्ने उनको धारणा छ ।
यस्तै वुमन इन आईटी र डेटा एनालाइटिक्समा आफ्नो प्रस्तुती दिदै इन्फाइनाइट नेपालकी बरिष्ठ प्रबन्धक स्मृति पत्रवंशले प्रविधिमा महिलाको सहभागीता बढाउनुपर्नेमा जोड दिइन् ।
क्राउडस्ट्राइक युकेका सफ्टवेयर इन्जिनियर रिकी श्रेष्ठले मोनोलिथको उपयोग बारे आफ्नो प्रस्तुती दिएका थिए । डेभकनमा रुजी नेटवर्क र आईपी क्यामेराको बारेमा प्रस्तुती समेत दिइएको थियो ।
त्यसैगरी कार्यक्रममा प्यानल संवाद समेत भएको थियो । उक्त छलफलमा वक्ताको रूपमा डा. जेम्स जोशी, फ्लिटपाण्डाकी प्रोजेक्ट म्यानेजर संगीता शर्मा र त्रिविको सीएसआईटी विभागका प्रमुख सर्बिन सायमी सहभागी थिए । वक्ताहरूले एआई, डेटा र शिक्षाको विषयमा छलफल गरेका थिए ।