कीवर्डहरू -

ई-कमर्स सूचीकरण गर्न विभागले दियो साउन २ गतेसम्मको समय, के के चाहिन्छन् कागजात ?

ई-कमर्स सूचीकरण गर्न विभागले दियो साउन  २ गतेसम्मको समय, के के चाहिन्छन् कागजात ?

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (ई-कमर्स) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई साउन २ गते भित्र व्यवसाय सूचीकृत गर्न आग्रह गरेको छ । 

विद्युतीय व्यापार गरी रहेका व्यवसायीहरूलाई विद्युतीय व्यापार ऐनको व्यवस्था बमोजिम साउन २ गते भित्र अनिवार्य रूपमा सूचीकरण गर्नको लागि निवेदन पेश विभागले अनुरोध गरेको हो । 

सूचना प्रविधिको माध्यम बाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोवारलाई नियमन गरी व्यवस्थित र विश्वसनिय बनाउन विद्युतीय व्यापार (ई-कमर्स) ऐन २०८१ मिति २०८१ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भई २०८२ वैशाख २ गते देखि लागू भएको छ । 

यस ऐन बमोजिम ऐन लागू हुनुभन्दा पहिला देखि विद्युतीय व्यापार गरिरहेका व्यवसायीहरू यो ऐन लागू भएको मितिले तीन महिना भित्र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने र नयाँ व्यवसायीले अनिवार्य रुपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । 

त्यसै अनुसार विद्युतीय व्यापार गरिरहेका र नयाँ शुरुवात गर्ने व्यवसायीले ऐनको दफा ४ को उपदफा (२) वमोजिमका विवरणहरू भएको आफ्नो विद्युतीय प्लेटफर्म तयार गरी सोही ऐनको दफा ५ बमोजिमका कागजातको विद्युतीय प्रतिसहित विभागको पोर्टलमा सूचीकृत हुन निवेदन पेश गर्न अनुरोध गरिएको हो । 

विभागको वेबसाइट doc.gov.np मा गएर सूचीकरणका लागि आवेदन दिन सकिने छ । 

विद्युतीय व्यापार पोर्टलमा सुचिकरण हुन आवश्यक पर्ने कागजातहरू

  • व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्बर
  • प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीको हकमा सम्बन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण
  • व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण
  • मूल्य अभिवृद्धि कर नम्बर वा स्थायी लेखा नम्बर
  • व्यवसायीको टेलिफोन नम्वर, ईमेल सामाजिक सञ्जालको ठेगाना (लिङ्ग) र सम्पर्क ठेगाना
  • शाखा वा आउटलेट भएको खण्डमा सोको सङ्ख्या र रहने स्थान 
  • विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण