राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाज केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।
‘डिजिटल प्रविधिको विकास आफैमा एउटा इन्नोभेसन हो । डिजिटल प्रविधिको प्रयोगले अन्य क्षेत्रमा थप इन्नोभेसन भइरहेको छ,’ उनले भने, ‘सबै इन्नोभेसनले समाजको वास्तविक समस्या समाधान गर्नुपर्छ । डिजिटल रूपान्तरण नागरिक केन्द्रित र समाजको हितमा हुनुपर्छ ।’
प्रविधिको विकासले सिमान्तकृतको आवाजलाई उठाउन मद्दत गरेको बताउँदै श्रेष्ठले नेपाल जस्तो भुपरिवेष्ठित राष्ट्रका लागि सूचना प्रविधि ‘भाइटल सोलुसन’ हुन सक्ने जानकारी दिए ।
‘हामीले परम्परागत रूपमा सामानहरू उत्पादन गरेर छिमेकी देशसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन् । किनभने हाम्रो उत्पादकत्त्व र प्रतिस्पर्धी क्षमता कमजोर छ,’ श्रेष्ठले अगाडि भने, ‘तर आईटीमा हामी एक्सेल गर्न सक्छौं । भुपरिवेष्ठित राष्ट्रका रूपमा भोग्नु परेका बाधा तोड्न सक्छौं, जसले गर्दा वैकल्पिक रूपमा हामी आम्दानी गर्न सक्छौं । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र आयात र रेमिट्यान्समा आधारित भएको अवगत गराउँदै डिजिटल प्रविधि र इन्नोभेसनले देशको अर्थतन्त्रका लागि आशा गर्न सक्ने आधार दिएको बताए ।
प्रविधिको विकासले अवसरसँगै साइबर सुरक्षामा चुनौती दिएको समयमा अब डिजिटल साक्षरतामा काम गर्नुपर्नेमा जोड दिएका थिए ।