यस वर्षको आरोहण मौसममा सगरमाथा आधार शिविरमा ड्रोन अपरेटरहरूको एक टोली आरोही र गाइडहरूसँग सहभागी भयो । उनीहरू विश्वकै अग्लो शिखर सफा गर्न भारी-भरकम ड्रोनसहित पुगेका थिए ।
एक समयमा एकदमै सफा मानिएको सगरमाथा, अहिले ‘विश्वकै अग्लो डम्पसाइट’ भनेर चिनिने गरी टनका टन फोहोर—खाली क्यान, ग्यास सिलिन्डर, बोतल, प्लास्टिकदेखि चढाइका क्रममा प्रयोग गरेर छाडिएका सामग्रीले ढाकिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार दुईवटा डीजेआई एफसी ३० हेभी-लिफ्टर ड्रोन ६ हजार ६५ मिटर (१९ हजार ९०० फिट) उचाइमा रहेको क्याम्प १ सम्म उडाएर यस वर्षको आरोहणको समयमा (साधारणतया अप्रिलदेखि जुनको सुरुवातसम्म) मा करिब ३०० किलो (६६० पाउन्ड) फोहोर तल झारिएको थियो ।
‘यसअघि हेलिकप्टर र जनशक्ति मात्र विकल्प थियो, बीचमा कुनै विकल्प थिएन,’ एयरलिफ्ट टेक्नोलोजीका संस्थापक राज विक्रम महर्जन भने, ‘त्यसैले, समाधानका रूपमा हामीले भारी फोहोर बोक्ने ड्रोनको अवधारणा ल्यायौं ।’
अहिले एयरलिफ्ट टेक्नोलोजीले नै यो परियोजना सञ्चालन गरिरहेको छ । गत वर्ष एभरेष्टमा सफल परीक्षण गरेपछि, कम्पनीले यस प्रणालीलाई नजिकैको आमा डब्लाम हिमालमा परीक्षण गरेको थियो । त्यहाँबाट, ६४१ किलो फोहोर हटाइएको थियो ।
‘यो हिमालहरूलाई सफा र सुरक्षित बनाउन क्रान्तिकारी अभियान हो,’ एभरेष्ट क्षेत्रको व्यवस्थापन गर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टाशी ल्हामु शेर्पाले भनिन ।
‘गेम चेन्जर’
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख छिरिङ शेर्पाका अनुसार ड्रोनबाट सगरमाथाको फोहोर हटाउने विधि अघिल्ला उपायहरूभन्दा धेरै प्रभावकारी, किफायती र सुरक्षित साबित भएको छ ।
‘केवल १० मिनेटमै एउटा ड्रोनले त्यति फोहोर बोसक्छ, जुन १० जनाले बोकेर झार्न ६ घण्टा लाग्छ,’ उनले एएफपीलाई भने । शक्तिशाली ड्रोनको मूल्य करिब २० हजार डलर पर्छ, तर यसलाई निर्माणकर्ता (चीन-आधारित कम्पनी) ले सफाइ अभियानलाई सहयोग गर्न र आफ्नो ब्रान्ड प्रवर्द्धन गर्न आपूर्ति गरेको हो । अन्य खर्च आंशिक रूपमा स्थानीय निकायहरूले व्यहोरेका छन् ।
फोहोर सफाइबाहेक, यी ड्रोनहरू अक्सिजन सिलिन्डर, भर्याङ र डोरीजस्ता अत्यावश्यक आरोहण सामग्री पुर्याउन पनि प्रयोग गरिएको छ—जसले सगरमाथाकै सबैभन्दा घातक खुम्बु आइसफल खण्डमा बारम्बार जानुपर्ने जोखिम घटाएको छ ।
यसले गाइड र पोर्टरहरूलाई, विशेषगरी आरोहण मौसम सुरू हुनासाथ बाटो बनाउने ‘फिक्सिङ टोली’का सदस्यहरूलाई, अझ सुरक्षित बनाउन मद्दत गर्नेछ । यसबाट फिक्सिङ टोलीका सदस्यहरू निकै खुशी भएको विश्वका सबै १४ वटा आठहजार मिटर अग्ला शिखरमा चढ्ने सबैभन्दा कान्छी आरोही निमा रिन्जी शेर्पाले भने ।
‘अब उनीहरू आफैं जान सक्छन्, ड्रोनले भने भर्याङ वा अक्सिजन र डोरी बोस्छ,’ उनले भने, ‘यसले धेरै समय र ऊर्जा बचाउँछ ।’ अर्को महिना एयरलिफ्ट टेक्नोलोजीले यी ड्रोनलाई विश्वको आठौं अग्लो हिमाल मनास्लुमा लैजाने योजना बनाएको छ ।
‘ड्रोन केवल युद्धमै काम लाग्छन् भन्ने होइन,’ महर्जनले भन्छन्, ‘ड्रोनहरूले ज्यान बचाउन सक्छन्, वातावरण जोगाउन सक्छन् । जलवायु र मानवीय कार्यका लागि यो प्रविधि साँच्चिकै गेम चेन्जर बन्नेछ।’ एएफसीको सहयोगमा