कीवर्डहरू -

इजीभ्याक्स: खोपको सम्पूर्ण जानकारी दिने र डिजिटल रेकर्ड राख्ने प्लेटफर्म

इजीभ्याक्स: खोपको सम्पूर्ण जानकारी दिने र डिजिटल रेकर्ड राख्ने प्लेटफर्म

रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो खोप। यही कारण सरकारले बालबालिकाका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर वयस्कहरूका लागि भने सबै प्रकारका खोप सहज रूपमा पाइने केन्द्रहरू नेपालमा सीमित छन्।

यही आवश्यकता महसुस गर्दै स्वास्थ्य सेवा प्रदायक क्लिनिक वानले करिब नौ वर्षअघि बच्चादेखि वयस्कसम्मका लागि ‘वान स्टप भ्याक्सिन सेन्टर’ सञ्चालन सुरु गरेको थियो। तर एकीकृत खोप सेवा सञ्चालन गर्दै जाँदा क्लिनिक वानले अर्को चुनौती पनि महसुस गर्‍यो—खोपसम्बन्धी तथ्यांक व्यवस्थित रूपमा राख्ने प्रणालीको अभाव।

त्यतिबेला नेपालमा सूचना प्रविधिको प्रयोग अहिले जस्तो व्यापक थिएन। आवश्यक स्रोत–साधन पनि सीमित थिए। त्यसैले खोपसम्बन्धी तथ्यांक डिजिटल रूपमा व्यवस्थापन गर्ने योजना भए पनि तत्काल कार्यान्वयन गर्न सकिएको थिएन।

पछि कोरोना महामारी आएपछि खोप र डिजिटल प्रविधिको महत्व झन् स्पष्ट भयो। त्यसपछि क्लिनिक वानले खोप व्यवस्थापनलाई डिजिटल बनाउने काम अघि बढायो।

‘खोपसम्बन्धी तथ्यांक व्यवस्थापन गर्ने सफ्टवेयर विकास गर्ने सोच करिब नौ वर्षअघि नै आएको थियो,’ क्लिनिक वानका डेपुटी सीईओ सन्तोष पौडेल भन्छन्, ‘तर विभिन्न कारणले त्यो योजना कार्यान्वयनमा आउन सकेन। कोभिडपछि भने खोप र डिजिटल प्रविधि दुवैको महत्व बढ्यो। त्यसपछि हामीले इजिभ्याक्स विकास गर्ने प्रक्रिया अघि बढायौं।’

धेरै खोप एकपटक लगाएपछि वर्षौंसम्म प्रभावकारी हुन्छन्। तर त्यसको व्यवस्थित डिजिटल रेकर्ड नहुँदा कहिलेकाहीँ जानकारी हराउने, पुरानो विवरण भेट्न गाह्रो हुने वा आवश्यक जानकारी नपाइने समस्या देखिने गरेको छ।

कतिपय अवस्थामा मानिसहरूले विभिन्न ठाउँमा लगाएका खोपका धेरै खोप कार्ड बोकेर हिँड्नुपर्ने अवस्था पनि हुन्छ। विदेश अध्ययन गर्न वा यात्रा गर्न जाँदा कतिपय देशहरूले निश्चित खोप अनिवार्य गरेका हुन्छन्। यस्तो अवस्थामा कागजी कार्ड हराएमा समस्या हुन सक्छ। तर डिजिटल रेकर्ड भएमा जुनसुकै ठाउँबाट पनि आफ्नो खोप विवरण सजिलै देखाउन सकिन्छ।

यस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले क्लिनिक वानले तीन वर्षअघि ‘इजिभ्याक्स’ सफ्टवेयर विकासको काम सुरु गरेको थियो। यो प्रणाली क्लिनिक वानले आफ्नै टोलीमार्फत तयार पारेको हो।

वेब–आधारित यो प्लेटफर्म डेढ वर्षअघि सुरु गरिएको र पछिल्ला छ महिनादेखि पूर्ण रूपमा प्रयोगमा आएको छ। इजिभ्याक्समार्फत खोपसम्बन्धी जानकारी लिन, खोपका लागि अपोइन्टमेन्ट लिन र आफूले लगाएका खोपको डिजिटल रेकर्ड राख्न सकिन्छ।

प्रिभेन्टेटिभ हेल्थकेयरमा एक दशकदेखि काम गर्दै आएको क्लिनिक वानले हाल आफ्नै सेवामा इजिभ्याक्स प्रयोग गरिरहेको छ। यसले सेवा प्रवाह र तथ्यांक व्यवस्थापनलाई सहज बनाएको कम्पनीको अनुभव छ।

इजिभ्याक्समार्फत प्रयोगकर्ताले आफ्नो डिजिटल खोप प्रोफाइल बनाउन सक्छन्। लगइन गरेर आफूले लगाएका खोपहरूको इतिहास हेर्न सकिन्छ। यसमा खोपको ब्रान्ड, ब्याच नम्बर, कसले र कहाँ लगाएको जस्ता विवरण सुरक्षित रूपमा राखिन्छ।

यस प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर उमेरअनुसार आवश्यक हुन सक्ने खोपको सिफारिस पनि गरिन्छ। प्रयोगकर्ताले प्लेटफर्मबाटै खोपसम्बन्धी जानकारी लिन र अपोइन्टमेन्ट बुक गर्न पनि सक्छन्।

खोप लगाएपछि कुनै प्रतिकूल प्रतिक्रिया देखिएमा प्रयोगकर्ताले फोटो वा विवरण पठाएर जानकारी दिन सक्ने सुविधा पनि यसमा राखिएको छ।

यो प्रणाली प्रयोगकर्ताका लागि मात्र होइन, स्वास्थ्य संस्थाहरूका लागि पनि उपयोगी हुने गरी बनाइएको छ। यसले भ्याक्सिन स्टक (इनभेन्ट्री) व्यवस्थापन गर्न सहयोग गर्छ। कुन खोप कति बाँकी छ र कति प्रयोग भयो भन्ने विवरण प्रणालीमै हेर्न सकिन्छ।

क्लिनिक वानले सुरुमा आफ्नै आवश्यकता पूरा गर्न यो प्रणाली विकास गरेको भए पनि पछिल्लो समय अन्य स्वास्थ्य संस्थाहरूमा पनि यस्तो सफ्टवेयरको आवश्यकता बढ्दै गएको पौडेल बताउँछन्।

‘बच्चा जन्मिएदेखि नै उसको खोप यात्रा सुरु हुन्छ,’ उनी भन्छन्, ‘तर हामीले त्यसको व्यवस्थित तथ्यांक राख्ने प्रणाली अझै विकास गर्न सकेका छैनौं। त्यसैले अन्य स्वास्थ्य संस्थाहरूका लागि पनि इजिभ्याक्स जस्तो एकीकृत प्लेटफर्म उपयोगी हुन सक्छ।’

भविष्यमा इजिभ्याक्सलाई अन्य स्वास्थ्य संस्थाहरूले पनि प्रयोग गर्न सक्ने गरी विस्तार गर्ने योजना कम्पनीले बनाएको छ। यसका लागि छुट्टै कम्पनी स्थापना गर्ने, प्रणालीलाई अझ प्रयोगकर्तामैत्री बनाउने र मोबाइल एप तथा छुट्टै वेबसाइट पनि ल्याउने तयारी भइरहेको छ।

हाल स्वास्थ्य संस्थाहरूले यो प्रणाली निःशुल्क परीक्षण (ट्रायल) का रूपमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। प्रयोगकर्ताले क्लिनिक वानको वेबसाइट vaccine.clinicone.com.np मा गएर सेवाबारे जानकारी लिन सक्नेछन्।

पौडेलका अनुसार दीर्घकालीन लक्ष्य इजिभ्याक्सलाई खोपसम्बन्धी जानकारी, सेवा र डिजिटल रेकर्ड उपलब्ध गराउने ‘वान स्टप प्लेटफर्म’ बनाउने हो।