आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपलब्ध छन् र यसको व्यापक प्रचार पनि भइरहेको छ । धेरैले यसलाई आधुनिक र सुविधाजनक मान्छन्, तर के यो साँच्चै आवश्यक छ? आउनुहोस्, यसका फाइदा र बेफाइदा विस्तारमा बुझौं ।
इलेक्ट्रिक ब्रशका फाइदाहरू
उत्तम सफाइ – इलेक्ट्रिक ब्रशको ब्रशिङ गति सामान्य ब्रशभन्दा धेरै द्रुत हुन्छ । यसको कंपन र घुम्ने गतिका कारण दाँतमा जमेको फोहोर राम्रोसँग हट्छ ।
कम मेहनतमा राम्रो सफाइ – धेरै स्ट्रोक्स लगाउनु पर्दैन् । केवल ब्रशलाई दाँतमा ठीकसँग राख्नुहोस्, बाँकी काम ब्रश आफैं गर्छ । यो विशेषगरी बच्चा र बृद्धहरूका लागि निकै उपयोगी हुन्छ ।
समयको अनुशासन – धेरैजसो इलेक्ट्रिक ब्रशहरूमा टाइमर हुन्छ, जसले तपाईंलाई २ मिनेटको ब्रशिङ पूरा भयो कि भएन भन्ने जानकारी दिन्छ । यसले ब्रशिङको नियमितता कायम राख्न सहयोग गर्छ ।
हातमा कमजोरी भएका लागि लाभदायक – जसलाई हातमा कमजोरी, कम्पन वा अन्य स्वास्थ्य समस्या छन्, उनीहरूका लागि म्यानुअल ब्रश चलाउनु गाह्रो हुन सक्छ । इलेक्ट्रिक ब्रश उनीहरूका लागि सजिलो र प्रभावकारी विकल्प हो ।
इलेक्ट्रिक ब्रशका बेफाइदाहरू
मूल्य महँगो – इलेक्ट्रिक ब्रश सामान्य म्यानुअल ब्रशको तुलनामा महँगो हुन्छ । साथै, यसको ब्रश हेड समय–समयमा परिवर्तन गर्नुपर्छ, जसले अतिरिक्त खर्च थप्छ । यसको औसत मूल्य करिब १००० देखि ५००० रुपैयाँ पर्छ ।
ब्याट्री र चार्जमा निर्भरता – इलेक्ट्रिक ब्रश ब्याट्री वा चार्जमा चल्ने भएकाले, यदि चार्ज सकियो भने फेरि म्यानुअल ब्रश प्रयोग गर्नुपर्ने हुन सक्छ ।
गलत प्रयोगले गिजामा असर – यदि इलेक्ट्रिक ब्रशलाई धेरै बलपूर्वक चलाइयो भने गिजामा चोट पुग्न सक्छ, जसले रगत आउन वा दुख्ने समस्या निम्त्याउन सक्छ ।
स्वाभाविक बानीमा असर – इलेक्ट्रिक ब्रशको बानी परेपछि म्यानुअल ब्रश प्रयोग गर्न गाह्रो लाग्न सक्छ । यसले तपाईंको दाँत सफा गर्ने प्राकृतिक बानीलाई असर गर्न सक्छ ।
अब समग्रमा भन्ने हो भने — यदि तपाईं दाँतको सफाइमा लापरवाही गर्नुहुन्छ, बालबालिका, बृद्ध हुनुहुन्छ, वा दाँतसम्बन्धी समस्या छ भने इलेक्ट्रिक ब्रश राम्रो विकल्प हुन सक्छ । तर, यदि तपाईंको ब्रशिङ बानी ठीक छ र तपाईं नियमित रूपमा दाँत सफा गर्नुहुन्छ भने सामान्य म्यानुअल ब्रश नै पर्याप्त हुन्छ ।