६ दिनसम्म सञ्चालन भएको नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण ‘एनपीनग ११’ सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागीतामा असार १ देखि ६ सम्म काठमाडौँमा एनपीनग ११ सञ्चालन भएको थियो ।
नेटवर्किङ तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत प्राविधिकहरूका लागि ज्ञान आदानप्रदान, सीप अभिवृद्धि, र पेशागत सञ्जाल विस्तारको उद्देश्यसहित हरेक वर्ष एनपीनग आयोजना हुँदै आएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर ज्ञान आदान प्रदान र कम्युनिटी विस्तार गर्न एनपीनग आयोजना गर्दै आएको एनपीनगका अध्यक्ष समित जनले जानकारी दिए ।
यस्तै एनपीनग ११ कन्फेरेन्सका प्रमुख अतिथि तथा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कानुन परिमार्जन गर्ने कार्य अगाडि बढाएको जानकारी दिएका थिए ।
कन्फरेन्समा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह सचिव सुवास ढकालले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, डेटा संरक्षण नीति र एआई नीतिका बारेमा प्रस्तुती दिएका थिए ।
यस्तै एनपीएक्सका प्रबन्ध निर्देशक तथा सानगका अध्यक्ष रूपेश भक्त श्रेष्ठले आगामी दिनमा सानगमार्फत ठूला ठूला सम्मेलन आयोजना गर्ने बताएका थिए ।
सिल्भर लाइनिङका सीटीओ प्रदिप लामिछानेले डेटा सेन्टर र क्लाउडको विषयमा ओपनिङ किनोट स्पीच दिएका थिए । यस्तै कन्फेरेन्समा अप्टिक्स, साइबर सुरक्षा, नेटवर्क सुरक्षा, डीएनएस लगायतका विषयमा टेक्निकल सेसन समेत सञ्चालन भएको थियो ।
कार्यक्रममा ‘कनेक्टिभिटी एण्ड वियोन्ड’ विषयमा प्यानल छलफल समेत भएको थियो, जसमा वक्ताको रूपमा एयरटेल बिजनेसका मिशा धनोआ, भायानेटका सीईओ विनय साउद र नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौड्याल रहेका थिए । छलफलको सहजीकरण रूपेश भक्त श्रेष्ठले गरेका थिए ।
एनपीनग ११ कन्फेरेन्स करिब ३० जना अन्तर्राष्ट्रिय विज्ञ तथा प्रतिनिधिको समेत सहभागीता रहेको थियो । कन्फेरेन्स हुनभन्दा अगाडि ५ दिन वर्कशप सञ्चालन भएको थियो । यस पटक आईएसपी कोर मास्टरक्लास, इन्टरप्राइज नेटवर्क १०१ र नेटवर्क अटोमेसनमा असार १ गतेदेखि ४ गतेसम्म कार्यशाला भएको थियो ।
त्यस्तै असार ५ गते अनुभवी प्रशिक्षकहरूबाट विभिन्न प्राविधिक विषयहरूमा ट्युटोरियल शत्र सञ्चालन गरिएको थियो । वर्कशपमा करिब ८० जनाको सहभागीता रहेको थियो । कार्यक्रमले ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धिमा र पेशागत सञ्जाल विस्तारमा सघाएको विश्वास गरिएको छ ।