माइक्रोसफ्टले आफ्नो पुरानो अपरेटिङ सिस्टम विन्डोज १० को समर्थन बन्द गर्ने घोषणा गरेको छ। अब प्रयोगकर्ताहरूले सुरक्षा अद्यावधिक(अपडेट) र प्राविधिक सहायता पाउँदैनन्।
विश्वभरका करोडौं कम्प्युटर र ल्यापटपहरू माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टममा चल्छन्। कम्पनीले विन्डोज १० को लागि समर्थन र सेवा बन्द गर्ने घोषणा गरेको छ। अब समर्थन बन्द हुँदा के-कस्तो जोखिम हुन सक्छ र यदि तपाईंले विन्डोज १० प्रयोग गरिरहनुभएको छ भने के गर्नु पर्ने हो, त्यसको जानकारी तल छ।
माइक्रोसफ्टले १४ अक्टोबर २०२५ बाट विन्डोज १० को लागि समर्थन बन्द गर्ने घोषणा गरेको थियो। यो घोषणापछि विन्डोज १० प्रयोग गर्नेहरूलाई विन्डोज अपडेट वा सुरक्षा अद्यावधिक प्राप्त हुन बन्द हुनेछ। लगातार सुरक्षा अद्यावधिक प्राप्त हुनु नै तपाईंको कम्प्युटरलाई भाइरस र ह्याकिङबाट सुरक्षित राख्ने प्रमुख उपाय हो।
अद्यावधिकले सिस्टमलाई सुस्त हुनबाट पनि बचाउँछ र तपाईंलाई नयाँ फिचरहरू प्रयोग गर्न मिल्छ। तपाईंको कम्प्युटर पहिलेझैँ चलिरहला, तर अब नयाँ फिचर र सुरक्षा समर्थनको फाइदा लिन सक्ने छैन। त्यस्तै, विन्डोज १० का लागि माइक्रोसफ्टको प्राविधिक सहायता पनि उपलब्ध हुनेछैन।
अब के गर्ने?
तपाईंका सामु दुई विकल्प छन्:
१) बिना अद्यावधिक विन्डोज १० नै प्रयोग गर्न जारी राख्नु, या
२) आफ्नो कम्प्युटरलाई विन्डोज ११ मा छिटो अपडेट (अपग्रेड) गर्नु।
हामी सुझाव दिन्छौं कि सकेसम्म चाँडो विन्डोज ११ मा अपग्रेड गर्नुहोस्। यसले तपाईंलाई विन्डोज ११ का नयाँ फिचर र सुधारिएका सुरक्षा विकल्पहरूको फाइदा लिन सक्षम बनाउनेछ।
कसरी गर्ने विन्डोज ११ मा अपग्रेड?
आफ्नो कम्प्युटर वा ल्यापटपको सेटिङहरूमा गएर अपडेटहरू जांच गर्नुहोस्। यदि तपाईँलाई विन्डोज ११ अपडेटको विकल्प देखिन्छ भने त्यसलाई इन्स्टल गर्नुहोस्।
सेटिङहरूमा विकल्प देखिएन भने माइक्रोसफ्टको आधिकारिक पृष्ठमा गई विन्डोज ११ डाउनलोड गर्नुहोस्।
ध्यान दिनुहोस् -विन्डोज ११ इन्स्टल गर्नु अघि कम्प्युटरमा बाँकी रहेका सबै अपडेटहरू इन्स्टल भइसकेको हुन आवश्यक छ।
अकस्मात् अद्यावधिक बन्द हुँदा विन्डोज १० प्रयोगकर्ताहरूमा साइबर आक्रमण र मालवेयरको जोखिम बढ्न सक्छ। यसलाई मध्यनजर गर्दै कम्पनीले एक वर्षको लागि (१३ अक्टोबर २०२६ सम्म) सुरक्षा अद्यावधिक दिने घोषणा गरेको छ, त्यसपछि सुरक्षा अद्यावधिक पनि बन्द गरिनेछ।